सुदूरपश्चिम प्रदेशमा रोकिएको कोरोना भाइरस परीक्षण किट आइपुगेपछि शनिबारदेखि पुनः सुरु भएको छ। संघीय सरकारले पठाएको तीन सय ८४ किट शुक्रबार राति नै धनगढी आएपछि कोरोना परीक्षण शनिबार बिहानदेखि सुरु भएको हो। किट आइपुगे पनि सुदूरपश्चिममा कोरोना परीक्षणले तीव्रता पाउन सकेको छैन। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा प्रदेशका तीन जनाको मात्रै परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै पछिल्लो २४ घन्टामा तीन जनाको नै थ्रोट स्वाबको नमूना संकलन भएको छ भने पछिल्ला पाँच दिनमा संकलन गरिएको ५५ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। उनीहरुको शनिबार राति धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पिसिआर मेसिनमार्फत कोरोना परीक्षण हुनेछ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शनिबार साँझदेखि कोरोाना परीक्षणलाई तीव्रता दिइएको जनाए। पिसिआर किटको मौज्दाता रहेको र आरएनए एक्पेक्सन किट संघीय सरकारले पठाएसंगै परीक्षणमा कुनै समस्या नआउने उनले बताए। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा दुई सय २९ जनाको र्यापिड टेस्ट गरिएको छ। शनिबार परीक्षण गरिएका कसैमा पनि एन्टिबडी नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।