सुदूरपश्चिम प्रदेशका २४ हजार ८ सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण

हालसम्म १४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका २४ हजार ८ सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गरिएको हो। शनिबारसम्म पिसिआर विधिबाट ४ हजार १ सय ९६ जनाको र २० हजार ६ सय १० जनार्को यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। पाँच सय १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएकामध्ये पाँच जना निको भएर घर गएका छन् भने ९ जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्। कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। हालसम्म आरडिटी गरिएकामध्ये ५६ जनामा पोजेटिभ देखिएको छ। जसमा ३७ जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १९ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ। सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको छ। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ। शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ। सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ७२ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ७२ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित

Comments are closed.