बैतडीमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना

बैतडीमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। नेपाल–भारत सिमानाका बैतडीको झुलाघाटमा आज शनिवार (बिओपी)को औपचारिक उद्घाटन भएको हो । सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले उक्त बिओपीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले बिओपी स्थापनाले सीमा निगरानी हुनेमा जोड दिनु भयो । बिओपीले सीमा सुरक्षाका लागि चौबिसैं घण्टा सुरक्षा दिने जनाईएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले बिओपी स्थापनापश्चात सीमा निगरानीका साथै राजश्व संकलनमा बृद्धि हुनुका साथै सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास व्यक्त गर्नु भयो । बैतडीको एकमात्र औपचारिक नाका रहेकोले अवैध राजश्व चुहावट नियन्त्रण गर्ने, भारतीय सुरक्षाकर्मी समन्वय गरि संयुक्त गस्ती गर्ने, सीमा सुरक्षा निगरानी, समन्वय सुरक्षा गर्ने जनाईएको छ । सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली बसेको छ । आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताउनु भयो । हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तीको प्रक्रियामा रहेकोले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ । यस्तै बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यिय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रुपान्तरण गरिने जनाइएको छ । पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीले जनाएको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । बिओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाइ देशभरीका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायी रुपमा विओपी स्थापना गरि परिचालन गर्न लागेको हो । हाल सीमामा देशभर १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय र्पुयाउने तयारी गरेको छ ।

सम्बन्धित

Comments are closed.