सुदूरपश्चिम प्रदेशमा दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७ पुग्यो

सुदूरपश्चिम प्रदेशमा दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७ पुग्यो
महेन्द्रनगर, १३ जेठ
सुदूरपश्चिम प्रदेशमा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका छन्। योसँगै सुदूरपिश्चिममा संक्रमितको संख्या १७ पुगेको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप दुई जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो पटक थपिएका संक्रमित कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । अछामका संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्नु भएको थियो । उहाका बुवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाको सेती अस्पतालमा उपचार भइरहेको छ। कैलालीका संक्रमित भने कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा हुनुहुन्छ । उहा पनि भारतबाट आएको खुलेको छ । उहाको टीकापुर अस्पतालमा उपचार हुने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो । यसअघि शुक्रबार, शनिबार र आइतबार गरी सुदूरपश्चिमका १० जनामा कोरोना पुष्टि भएको थियो । धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो । शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। कैलालीका तीन जना संक्रमितमध्ये एकजना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए। अन्य तीनजनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। उहा पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

सम्बन्धित

Comments are closed.