साढे २७ सयभन्दा बढी नेपालीहरु भित्रिए

महेन्द्रनगर, १६ जेठ
कञ्चनपुरको गड्डाचौकी नाका भएर शुक्रबार साढे २७ सयभन्दा बढी नेपालीहरु भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दशगजामा आइपुगेका २७ सय ७८ जनालाई नाकाबाट भित्र्याइएको हो । दशगजाबाट भित्र्याइएका सबैलाई आ–आफ्ना जिल्लातर्फ पठाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुर जिल्लाका स्थानीयलाई भने आ–आफ्ना स्थानीय तहमा पठाएर क्वारेन्टाइनमा राखिएको छ । दशगजामा पुगेका सबैलाई गन्तव्यतर्फ पठाइसकिएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताउनु भयो । उनीहरुलाई दशगजामै विवरण संकलनदेखि स्वास्थ्य जाँच गरेर गन्तव्यतर्फ पठाइएको हो । भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरु पैदल तथा सवारी साधनमा आउने क्रम दिनहुँ बढ्दै गएको हो । शसस्त्र प्रहरी उपरीक्षक साहुका अनुसार शुक्रबार १७८ जना भारतीय नागरिक समेत भारत फर्किएका छन् । जिल्लाका विभिन्न अवैध नाकाबाट लुकिछिपी भित्रिनेहरुका कारण व्यवस्थापनमा समस्या हुनुका साथै संक्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि भारतबाट घर फर्किनेहरुलाई गड्डाचौकी नाका भएर भित्र्याउन सुरु गरेको हो । बिहीबारसम्म करिब साढे ७ हजार नेपालीहरु घर फर्किसकेका छन् ।

सम्बन्धित

Comments are closed.