विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण भारतमा बढ्दै जानथालेपछि भारतमा रहेका सुदुरपश्चिमेलीहरुको स्वेदेश फर्किनेक्रम बढेको छ । यसरी भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिँदै गएका छन् । बिहीबार बझाङ र बाजुरामा क्वारेन्टाइनको बेड संख्या अपुग भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्थानीय तहका लगभग ८ सय ४३ वटा क्वारेन्टाइनमा रहेका २९ हजार ५ सय ६४ बेड अपुग हुने अवस्थामा पुगेको जनाएको छ । बिहीबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ५ सय ६१ जना पुगिसकेको छ । निर्देशनालयका अनुसार बझाङका ९० वटा क्वारेन्टाइनमा रहेका सबै १ हजार ३ सय ७७ बेड भरिएका छन् । त्यस्तै बाजुराका ७४ वटा क्वारेन्टाइनमा रहेका ८ सय ५१ बेडमा १ सय ८६ महिला र ६ सय ६१ पुरुषलाई राखिएको छ । अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी जिल्लाका क्वारेन्टाइन पनि भरिँदै गएका छन् । भारतबाट दैनिक हजारौंको संख्यामा नेपाली भित्रिन थालेपछि क्वारेन्टाइनको व्यवस्थापन गर्न स्थानीय तहलाई समस्या परिरहेको छ । दार्चुलामा ४२ वटा क्वारेन्टाइनमा रहेका ९ सय २० बेडमा बस्नेको ५ सय ७० जना पुगिसकेको छ । डोटीमा ८५ स्थानमा रहेका २ हजार ८ सय बेडमा डेढ बेडमात्र खाली छ । यहाँ बिहीबारसम्म २ हजार ६ सय ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ । अछाममा ९८ वटा क्वारेन्टाइमा २ हजार १ सय ४६ बेड छ । अब खाली ८ सय १२ मात्रै छन् । अछाममा अहिले १ हजार ३ सय ३४ जना क्वारेन्टाइनमा छन् । बैतडीमा १ सय ४ क्वारेन्टाइनमा ३ हजार ८४ जना रहेका छन् । कुल बेड संख्या ४ हजार ४१ मध्ये खाली ९ सय ५७ मात्रै छ । त्यस्तै डडेल्धुराका ९३ वटा क्वारेन्टाइनमा ४ हजार १ सय ९७ बेड भएकोमा २ हजार १ सय ७५ जना बसिसकेका छन् । सबैभन्दा धेरै बेडको व्यवस्था गरिएको कैलालीमा पनि ५ हजार २ सय ८५ पुगिसकेका छन् । यहाँ १ सय ७२ स्थानमा ७ हजार ८ सय ७५ जना क्षमताको क्वारेन्टाइन व्यवस्था गरिएको थियो । कञ्चनपुरमा भने ६ सय ९ जना क्वारेन्टाइनमा छन् । भारतका विभिन्न सहरबाट आई सुदूरपश्चिमका नाकामा भित्रने नेपालीको संख्या दिनप्रतिदिन बढि रहेको छ । पछिल्लो एक सातामा कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २८ हजार नेपाली भित्रिएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले किट अभावको कारण सीमा नाकामा गरिने आरडीटी जाँचलाई निरन्तरता दिन नसकेको बताउनु भयो ।