बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी कीट अभाव भएको छ । क्वारेन्टाइनमा ४ हजार ६ सय बढी नागरिक बसे पनि बैतडीमा ८ सय मात्रै आरडिटी कीट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनु भयो । सबै पालिकामा पठाएको समेत गरी अहिले बैतडीमा ८ सय कीट मात्रै मौज्दात छ। क्वारेन्टाइनमा बसेकाहरु भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण भने हुन सकिरहेको छैन । यसले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । क्वारेन्टाइनमा बसेकाहरुका आरडिटी मात्रै नभएर पिसिआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताउनु भयो । बैतडीमा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएपछि आरडिटी कीट पनि अभाव हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताउनु भयो । कीट अभाव भएपछि प्रदेश सरकारसँग कीट उपलब्ध गराउन माग गरिएको छ । यसैगरी भिटिएम अभावमा जिल्ला प्रहरी कार्यालयका प्रहरीको कोरोना परिक्षण हुने सकेको छैन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि सबै प्रहरीको पिसिआर परीक्षण गर्ने भनिएको थियो । तर थ्रोट स्वाबको नमुना संकलन गर्न भिटिएम अभाव हुँदा सबै प्रहरीको पिसिआर जाँच हुन सकेको छैन् । कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि हिरासतमा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि संक्रमितको सम्पर्कमा रहेका ४८ प्रहरीको पिसिआर परीक्षण गरिए पनि अन्यको भने हुन नसकेको बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य २८ जनाको अहिलेसम्म पनि पिसिआर परीक्षण हुन नसकेको उहाले बताउनु भयो । साथै सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरीको पनि कोरोना परीक्षण हुन सकेको छैन । उक्त नाकाबाट उद्धार कार्य जारी रहँदा ती प्रहरीको कोरोना परीक्षण पनि अनिवार्य रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताउनु भयो । यसअघि परीक्षण गरिएका ४८ प्रहरीसहित ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।