मृतक एक जना बालिकामा कोरोना पुष्टि
बाजुरा, १८ जेठ
जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा ज्यान गुमाएका एक जना बालिकामा कोरोना पुष्टि भएको छ । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका वडा नम्बर १ का दुई वर्षीया बालिकाको आज आइतबार बिहान ज्यान गएको थियो । कैलालीको धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उहाको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गर्नु भयो । सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो । मृतक बालिकाका २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो । जिल्ला अस्पतालका डाक्टर रूपचन्द्र विश्वकर्माका अनुसार मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो । क्वारेन्टाइनमा रहेका बालिका अचेत भएपछि अस्पताल लगिएको थियो । आइतबार बिहान उपचारकै क्रममा उहाको ज्यान गएको थियो । डाक्टर विश्वकर्माका अनुसार ती बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । चार दिनसम्म स्रोतसाधनले भ्याएसम्म उपचार गरे पनि बालिकालाई बचाउन नसकिएको डाक्टर विश्वकर्माले बताउनु भयो । डाक्टर विश्वकर्माका अनुसार उहालाई इन्ट्रोभेसन (आइभी) एन्टिबायोटिक औषधि र अक्सिजन दिई उपचार गरिएको थियो । आठ दिनअघि भारतबाट फर्किएकी ती बालिकालाई बूढीगंगा नगरपालिका वडा नम्बर १ को एक स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।
शुक्लाफाँटा खबर
4965 posts
सम्बन्धित