सेनाद्धारा अस्थायी क्वारेन्टिन निर्माण
डोटी, १८ जेठ
नेपाली सेनाले डोटीको शिखर नगरपालिका वडा नम्बर ३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो ।
गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताउनु भयो । भारतबाट आउनेहरुको संख्या दिनानुदिन बढिरहेको तर क्वारेन्टिनको अभाव भएका कारण अस्थायी क्वारेन्टिन निर्माण गरिएको खड्काले बताउनु भयो । बाँस र त्रिपालको प्रयोग गरेर निर्माण गरिएका टहराहरु शनिबारेदेखि प्रयोगमा आइसकेका छन् । तत्कालका लागि १७ वटा आवासीय अस्थायी टहरा, १३ वटा शौचालय र १ भान्साघर निर्माण गरिएको समेत प्रमुख सेनानी खड्काले बताउनु भयो । प्रत्येक क्वारेन्टिनमा चारदेखि ६ जनासम्म राख्न सकिने खड्काले जानकारी दिनु भयो । शिखर नगरपालिकाभर करिब दशदेखि एघार हजार मानिसहरू कामको सिलसिलामा भारतलगायत अन्य तेस्रो मुलुकमा रहेका छन् ।
नगरपालिकाभित्रका विद्यालयहरु र सामुदायिक भवनहरूमा क्वारेण्टाईन वनाएर मात्र सम्भव नहुने देखिएपछि अस्थायी टहरा निर्माणका लागि नेपाली सेनासँग सहयोग मागेको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाहले बताउनु भयो । अस्थायी क्वारेन्टिनमा बस्नेहरुका लागि खानेपानी, बिजुली बत्ती, ओढ्ने ओछ्याउने लगायतका सम्पूर्ण व्यवस्थापन गरिएको समेत स्वास्थ्य शाखा प्रमुख शाहले बताउनु भयो । भारत तथा तेस्रो मुलुकबाट आउने मानिसहरूलाई क्वारेन्टिनमा राखेर व्यवस्थापन गर्न कठिनाई भइरहेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताउनु भयो ।
शुक्लाफाँटा खबर
5285 posts
Comments are closed.