विगत एक हप्ताको अवधिमा ५९ हजार भन्दा बढि नागरिक भारतबाट भित्रिए
डोटी, २३ जेठ
सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत एक हप्ताको अवधिमा सो सङ्ख्यामा सुदूरपश्चिमेलीहरु भारतबाट नेपाल भित्रिएका हुन्। भारतबाट नेपाल भित्रिएकालाई यहाँका नौवटै जिल्लामा निर्माण गरिएका कूल एक हजार ६३९ क्वारेन्टिनमा राखिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिम भित्रिएकामध्ये ५० हजार ९१८ पुरुष र आठ हजार ५३६ महिला छन्। सबैभन्दा बढी कैलालीका १७ हजार ३२७, कञ्चनपुरका आठ हजार २०४ तथा डोटीका आठ हजार ७३५ जना रहेका छन्। यसैगरी अछामका ६ हजार १८६, बैतडीका पाँच हजार ६४५, डडेल्धुराका चार हजार ५०८, बझाङका दुई हजार ९१०, बाजुराका चार हजार ५३७ र दार्चुलाका एक हजार ४८२ जना नेपाल भित्रिएका छन्।सुदूरपश्चिम प्रदेश सरकार तथा यहाँका स्थानीय तहको पहलमा उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल प्रवेश दिन थालिएपछि अहिले दैनिक सयौँको सङ्ख्यामा नागरिक घर आउन थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । सीमा क्षेत्रमा कोरोनासम्बन्धी कुनै जाँच नहुने गरेका कारण भारतबाट आएका नागरिकबाट अब कोरोना फैलिन सक्ने आशङ्कामा सुदूरपश्चिमेली नागरिकमा भने त्रास फैलिन थालेको छ। पछिल्लो समय यहाँका नौवटै जिल्लामा कोरोना महामारीका सङ्क्रमित देखिएका छन्।
भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर ल्याई यहाँका क्वारेन्टिनमा राखिएका नागरिकलाई चाँडो कोरोना जाँच गर्नुपर्ने स्थानीयवासीको माग छ। भारतबाट आएका यहाँका नौवटै जिल्लाका ८६ जना व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिनु भयो ।भारतबाट आएका डोटीका १० जनामा कोरोना भाइरसको सङ्क्रमण छ भने अन्य कतिजनामा सङ्क्रमण छ भनी जानकारी लिन सबैको चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका बमबहादुर बोहराले बताउनु भयो ।भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि भएकाले सङ्क्रमण फैलिन नदिन यहाँका स्थानीय तहले ठोस सावधानी अपनाउनुपर्ने नेपाली काँग्रेस डोटीका क्षेत्रीय सभापति विजय खड्काले बताउनु भयो । त्यस्तै जिल्ला अस्पतालमा व्यवस्थित आइसोलेशन भएको र कोरोनाले भयाबहस्थिति हुनेछ भनेर अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टिनमा राख्नुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने बताउनुु भयो ।
शुक्लाफाँटा खबर
6819 posts
Comments are closed.