५ दिनका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित

सुदूरपश्चिममा संकट थप बढ्ने चिन्ता

५ दिनका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित
धनगढी, २३ जेठ
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्रै प्रयोगशाला कैलालीको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका थ्रोट स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकोले कम्तीमा पाँच दिनसम्मका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनु भयो ।

प्रयोगशालाको क्षमता भन्दा बढी नमूना आएपछि पाँच दिनसम्मका लागि नमूना संकलन कार्य रोक्न स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेश भरीका सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको उहाँको भनाइ छ । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार, धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेपनि अहिले प्रदेश भरबाट संकलित एक हजार भन्दा बढी व्यक्तिहरुको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी रहेको छ । हाल सम्म सुदूरपश्चिमको एक मात्र प्रयोगशालामा ४ हजर ९ सय ५४ जनाको स्वाब संकलन गरिएको मध्ये ३ हजार ८ सय ७१ जनाको मात्र रिपोर्ट आएको छ । अझै पनि १ हजार ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वस्थ्य निर्देशनालयले जनाएको छ। मैज्दात स्वाबको रिपोर्ट आउन करिब ४ दिन लाग्ने भएको हुँदा तबसम्म नयाँ स्वाब संकलन नगर्न भनिएको अवस्थीले बताए । संक्रमण बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने बेला स्वाब संकलन बन्द हुँदा सुदूरपश्चिममा संकट थप बढ्ने त होइन भन्ने चिन्ता थपिएको छ ।

सम्बन्धित

Comments are closed.