पत्रकार भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने

महेन्द्रनगर । डडेल्धुराकी पत्रकार भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएको छ। राष्ट्रिय कोदो दिवस–२०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उक्त पुरस्कारबाट सम्मान गर्न लागिएको हो।

कोदो तथा कोदोजस्ता बालीको संरक्षण र प्रचारप्रसारमा सञ्चारकर्मीहरूको योगदानलाई सम्मानस्वरूप प्रदान गरिने ‘कोदो समाचार लेखन पुरस्कार–२०८२’ अन्तर्गत पौडेलसहित पाँच पत्रकार पुरस्कृत हुने घोषणा गरिएको छ।

सो पुरस्कारअन्तर्गत कर्णालीमिसन डटकमका सागर परियारलाई ‘सर्वोत्कृष्ट पत्रकार’, बिजमाण्डू डटकमकी सरला सुवेदी र कारोबार दैनिककी कोशिला कुँवरलाई ‘उत्कृष्ट पत्रकार’ पुरस्कार प्रदान गरिने भएको छ। त्यस्तै, नेपालखबरका अर्का संवाददाता दिनेश बुढालाई ‘प्रोत्साहन पुरस्कार’ दिइनेछ।

गत वर्षदेखि एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स अनाज को पहलमा सञ्चालित पुरस्कार कार्यक्रम अन्तर्गत कृषि पत्रकारितामा कलम चलाउने पत्रकारहरूलाई सम्मान गर्न थालिएको हो। पुरस्कृत पत्रकारहरूलाई छुट्टै कार्यक्रम गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यसैबीच, ‘कोदो दिवस–२०८२’ नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको हो। सरकारले कोदोको महत्वलाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले साउन १६ लाई कोदो दिवस घोषणा गरेको हो। दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ०, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, चाँगुनारायण नगरपालिका र अनाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

समारोह कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षता र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सम्बन्धित

Comments are closed.