महेन्द्रनगर । कैलाली कारागार भित्र दुई समूहबीच भएको झडपमा घाइते भएका अर्का व्यक्तिलाई पनि काठमाडौं रिफर गरिएको छ।आइतबार दिउँसो कर्ण सलामी मगरलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाले जानकारी दिए।
अर्का आयुष भट्टराईलाई शनिबार नै काठमाडौं पठाइएको थियो। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।शुक्रबार राति दुई वटा ब्लकका कैदीबन्दीहरूबीच झडप भएको थियो। जसमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
धनगढी उपमहानगर(४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। उनी ६ महिना पहिले लागुऔषध मुद्दामा जेल परेका थिए।एसपी राणाले त्यहाँको घटना शनिबार नै शान्त बनिसकेको बताए।
‘माहोल हिजै शान्त बनिसकेको छ। कतिपयले गलत बुझेर प्रहरीलाई छिर्न नदिएको भनेका छन्। कारागार भित्र छुट्टै नियम हुन्छ। भित्र कैदीबन्दी र बाहिर प्रहरी प्रशासनले छुट्टाछुट्टै ताला लगाउने हुन्,’ उनले भने।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पनि कारागार भित्रको अवस्था सामान्य रहेको बताए। ‘अब भित्र कुनै समस्या छैन,’ उनले भने, ‘कैदी बन्दीहरूले अर्को ब्लकका बन्दीहरू आउन नपाउन भनेर आफैले भित्रबाट सुरक्षाका लागि ताला लगाएका छन्। अब केही बेरमै हामी कारागार भित्रको अवस्था बुझ्न जाँदै छौं।’
Comments are closed.