महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आर्थिक सहयोगमा सञ्चालित ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत गमला निर्माण गरेका श्री महेन्द्रनगर माध्यमिक विद्यालयका विद्यार्थीलाई पारिश्रमिक वितरण गरिएको छ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र राज विष्ट, प्रधानाध्यापक देवराज भट्ट तथा कार्यक्रम संयोजक वासुदेव भट्टको संयुक्त उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बनाएका गमला विद्यालय परिसरमै प्रदर्शनी गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले विद्यार्थीलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने यस्ता कार्यक्रम निकै प्रभावकारी भएको उल्लेख गर्दै भविष्यमा अझ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसँग जोडिने खालका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। शिक्षा विकास निर्देशनालय दिपायल परिवारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रत्यक्ष पारिश्रमिक प्रदान गरिएको छ।
विद्यार्थीहरूले सिकेको सीपले आगामी दिनमा उनीहरूलाई स्वरोजगार बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने निर्देशनालय, सरोकारवाला निकाय तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद व्यक्त गरेको छ।
Comments are closed.