सेवा प्रवाह विस्तारमा गृह मन्त्रालयको जोडः २३ वटा इलाका प्रशासन थपको प्रस्ताव प्रशासन समिति पुग्यो

काठमाण्डौं । सेवा प्रवाह विस्तारलाई जोड दिइदैं गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा २३ वटा इलाका प्रशासन कार्यालय थप गर्न गरेको प्रस्ताव सोमबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषद्बाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएकोले मुलुकभर २३ वटा इलाका प्रशासन कार्यालय थपका लागि मन्त्रालयका नेतृत्वमा आउनासाथ पहल थाल्नु भएको थियो ।

प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कामकाजका लाागि धेरै समय खर्चेर जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यताले सेवाग्राही नागरिकहरुले हैरानी व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गरी सेवा प्रवाह विस्तार गर्ने उद्देश्यसहित उक्त कार्य अघि बढाइएको हो ।

मन्त्री लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थपमा जोड दिएका हुन ।

गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन संरचना र दरवन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक भएकोले गृह मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको थियो ।

सम्बन्धित

Comments are closed.