नेपालमा कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै लगाइएको लकडाउन सोमवार ७७ औँ दिनमा पुगेको छ। वुहानमा ७६औँ दिनमा कोरोनाभाइरस नियन्त्रणमा आएर लकडाउन खोलिएको थियो।
जेठ महिनाको अन्त्यसम्मका लागि लगाइएको लकडाउन त्यसपछि केही खुकुलो बनाउने प्रस्ताव गरिएको भनिए पनि सरकारको निर्णय आएको छैन।
नेपालमा दोस्रो व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिए लगत्तै लगाइएको लकडाउनले सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न उपयोगी बन्ला भनेर उक्त कदमप्रति कैयौँको भरोसा थियो।
तर झन् झन् सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।
सरकारले लकडाउन अवधिमा कोरोनाभाइरस रोकथामका लागि चाल्नुपर्ने कदम नचालेका कारण लकडाउनको अवधि अनिश्चित भएको र यसले आममानिसको दैनिक जीवनमा अर्को असर गर्न थालेको धारणा प्रकट हुन थालेको छ।
कोरोनाभाइरसको महामारी सुरु भएको चीनको वुहान सहरले कसरी साढे दुई महिनाको अवधिमा सङ्क्रमण नियन्त्रणमा लिन सक्यो र नेपालसँग रोकथामका लागि पर्याप्त समय हुँदा अझै किन अन्योल छ?
यसबारे विज्ञहरूले औंल्याएका पाँच कारण यस्ता छन्-
१.‘प्रभावहीन‘ लकडाउन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन लकडाउन प्रभावकारी हुन नसकेको ठान्छन्।
उनका अनुसार लकडाउन भनेको निश्चित समय रोग सङक्रमण नहोस् भनेर रोकथामका उपायहरू चाल्न सजिलोका लागि लगाउने हो तर त्यो अवधिमा मानिसहरू स्वयम् सजग नभएको उनी बताउँछन्।
“हामीले वुहानमा लगाएको लकडाउन हेर्यौँ भने लकडाउनका बेला मानिसहरू न सहरबाट भित्र छिर्न पाउँथे न बाहिर निस्कन पाउँथे। सरकारको नियम पनि त्यहाँ कडा रह्यो र मानिसहरू पनि त्रासले भित्रै बसे। तर हाम्रोमा त्यस्तो हुन सकेन,” डाक्टर पुनले भने।
“हाम्रो त यहाँ अरू बेला बन्द गरेको वा कर्फ्यू लगाएको जस्तो मानिसहरू साँझ बिहान हिँड्ने, सङ्क्रमण नहोस् भनेर सचेत नहुने गरेको देखियो।”
जनस्वास्थ्यविद् समीरमणि दीक्षितले पनि लकडाउन सुरुमा लगाउने सरकारको निर्णय निकै सकारात्मक भए पनि लकडाउनको समयको उचित उपयोग गर्न नसकेको बताउँछन्।
“लकडाउनका बेला हामीले उपत्यकाबाट बाहिरिने र भित्रिने मानिसको व्यवस्थापन गर्न सकेनौँ,” उनले भने, “भारतबाट आउने मानिसहरूलाई पनि समयमै भित्र्याएर उनीहरूलाई व्यवस्थित तरिकाले घर पठाउन सकेनौँ।
सङ्क्रमण नियन्त्रणका लागि वुहानले चालेका कदमबारे हालै भएको अध्ययनमा पनि सबैभन्दा प्रभावकारी मानिस मानिसबीचको भौतिक दूरी र मास्कको प्रयोग भएको देखिएको दीक्षितले बताए।
२. स्रोतसाधन र जनशक्तिको अभाव
वुहान र नेपालको तुलना धेरै हदसम्म गर्न नसकिने विज्ञहरू बताउँछन्।
पहिलोपटक रोग देखिएर थुप्रै सङ्क्रमित अनि मृत्यु नै भएको वुहानले कसरी साढे दुई महिनामा नियन्त्रण गर्न सक्यो र नेपालले किन सकिरहेको छैन भन्ने विषय दाँज्न धेरै कुराले नसकिने उनीहरू बताउँछन्।
सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भन्छन्- रोकथाम र नियन्त्रणका लागि उनीहरूले जुन स्रोतसाधन र जनशक्तिको प्रयोग गरे त्यो हामीसँग छँदै छैन।
उनले भने, “सुरुमा डेढ दुई महिना उनीहरू पनि तयार देखिएका थिएनन्। तर त्यसपछि उनीहरूले चेते र पछिल्लो एक महिनामै उनीहरूले चाहँदा एक महिनामै नियन्त्रण गर्न सके।”
उनका अनुसार रोगको सङ्क्रमण नफैलियोस् भनेर वुहान सहर रहेको हुबे प्रान्तमा १८ सय वटा टोली खटाइएको थियो र प्रत्येकमा पाँच जना इपिडिमियोलोजिष्ट थिए।
“हाम्रोमा तलदेखि माथि बसेका मानिससम्ममा विज्ञानको साक्षरता पनि कम छ, जनस्वास्थ्यकर्मीलाई परिचालन राम्रोसँग गर्न सकिएको छैन,” उनले भने, “उनीहरू कहाँ स्वास्थ्यकर्मी, भेन्टिलेटर, अक्सिजनलगायतका अत्यावश्यकीय सामग्रीको कमी छैन। चीन र हाम्रो अवस्था दाँज्न हुँदैन। उनीहरूले १ महिनामा गरेको कुरा हामीले १ वर्षमा पनि सक्दैनौं।”
३.परीक्षणको सुस्तता
वुहानमा परीक्षणका लागि सुरुमा कीटको अभाव भए पनि पछिल्लो महिना त्यसमा तीव्रता पाएपछि भने लकडाउन खुकुलो पार्न सक्ने स्थितिमा पुगेको विज्ञहरू बताउँछन्।
“सुरुमा परीक्षणका लागि उनीहरूलाई समस्या भए पनि पछि उनीहरूले त्यसको व्यवस्थापन गर्न सके। हामी भने अझै पनि परीक्षणको कमी र क्वारन्टीनकै विषयमा छलफल गरिरहेका छौं,” डाक्टर समीरमणि दीक्षितले बताए।
यतिखेर देशभरमा एक लाख ७० हजार भन्दा बढिको सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन्।
तर क्वारन्टीनमा रहेका मानिसहरूको अनुपातमा उनीहरूको पीसीआर परीक्षण दर निकै कम भएकाले लकडाउनबारे अन्योल बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुखले डाक्टर पुनले बताए।
“लकडाउन लगाउने भनेर मात्रै हुँदैन। उताको नियम र यताको नियम अनि उताका मानिसको व्यवहार र यताका मानिसको व्यवहार पनि हेर्नुपर्छ,” पुनले भने।
पीसीआर परिक्षणको दायरा बढाउन नसके अन्य उपायले खास प्रतिफल दिन नसक्ने विज्ञहरूले बताउँदै आएका छन्।
अहिलेसम्म ९६,००० को मात्र पीसीआर विधिबाट परीक्षण भएको छ।
द्रूत परीक्षण कीट आरडीटीबाट समेत भाइरस परीक्षणको काम गरिए पनि सक्रिय सङ्क्रमण थाहा पाउन त्यो उपयोगी नदेखिएको बताइएको छ।
सरकारले यसै साता कोरोना परीक्षणको नयाँ प्रोटोकल बनाएको छ।
तर उक्त प्रोटोकल अनुसार परीक्षणको दायरा झनै खुम्चिएको भन्दै यसले सङ्क्रमणका घटना थपिने विज्ञहरूले बताएका छन्।
४.‘निष्क्रिय‘ सरकार
कोरोनाभाइरसका कारण लकडाउन गर्नुबाहेक सरकारले यसको सङ्क्रमण रोकथामका लागि अन्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, मानिसहरूलाई आइसोलेसन र क्वारन्टीनमा राख्नेलगायतका काम गर्न नसक्दा लकडाउन प्रभावकारी हुन नसकेको जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितले बताए।
“लकडाउन लगाउने भन्ने त भयो तर त्यो अवधिमा हामीले अर्को साता के-के गर्नुपर्छ भनेर कार्ययोजना बनाउन सकेनौँ,” उनले भने।
सरकारले अहिलेसम्म पनि कस्ता व्यक्तिलाई अस्पताल राख्ने कस्तालाई नराख्ने भन्ने निर्क्योल गर्न नसकेको उनले बताए।
चीनमा सुरुमा समस्या देखिए पनि पछि उसले व्यवस्थापन राम्रोसँग गरेको बताउँदै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा व्यवस्थापकीय कमजोरीका कारण पनि लकडाउन लम्बिरहेको बताए।
“हाम्रो व्यवस्थापकीय कमजोरी असाध्यै धेरै छ,” डाक्टर सुवेदीले भने।
जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशले बिना लकडाउन कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि प्रयास गरिरहेका छन्।
त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सम्भावित सङ्क्रमितको पहिचान र त्यसपछिको व्यवस्थापन भएको विज्ञहरू बताउँछन्।
“त्यहाँचाहिँ लकडाउन नै नभन्दा पनि मानिसहरू आफैँ सचेत हुने, बाहिर निस्कँदा मास्कको उचित प्रयोग गर्ने, अत्यावश्यक नभइ बाहिर नजाने गरे,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डाक्टर पुनले भने, “अनि हाम्रोमा लकडाउन लगाए पनि मानिसहरू साँझ बिहान निस्कने गरे।”
चीनमा लकडाउन नै लगाइएका बेला पनि सम्भावित सङ्क्रमितको पहिचान मोबाइलमार्फत् कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूको अवस्था हेरी आइसोलेशन र क्वारन्टीनमा राख्ने अनि सँगै परीक्षणको काम पनि गरिएको थियो।
“लकडाउनका बेला सकेसम्म धेरै सङ्क्रमितको पहिचान गर्न सके, उनीहरूलाई आइसोलेशनमा राख्न सके, अरू सम्पर्कमा आएका मानिसहरूलाई पनि क्वारन्टीनमा राखे, जनस्वास्थ्यकर्मीलाई खटाउने, कन्ट्याक्ट ट्रेसिङको काम पनि चाँडो भयो तर हाम्रोमा त्यो प्रभावकारी रूपमा हुन सकेको छैन,” डाक्टर सुवेदीले भने।
Comments are closed.