महेन्द्रनगर । कञ्चनपुर कारागारबाट मंगलवार भागेका कैदीबन्दी मध्येबाट १७ जना फिर्ता आएका छन् । हिजो ४ सय ७९ कैदीबन्दी मध्ये २१ जना कैदीबन्दी नभागेको भित्रै रहेको र अन्य सबै भागेका थिए ।
भागेका मध्ये १७ जना बुधवार बेलुकी ५ बजे सम्म फिर्ता आएको कञ्चनपुर कारागारका निमित्त जेलर राम दत्त जोशीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले पनि एक सुचना जारी गर्दै सबै कैदीहरुलाइ सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीहरु बाहिरिएका थिए ।
सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् ।
बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सयजनासहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए ।
जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् ।
भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्रायस् जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।
Comments are closed.