महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा आन्दोलनको नाममा गरिएको लुटपाट तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाको १ सय ८१औं बैठकबाट दोषीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरिएको हो।जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते शुक्लाफाँटा नगरपालिकामा हिंसात्मक प्रदर्शनसँगै तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भए संगै नगर कार्यपालिकाले बिहीबार बसेको बैठकले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।
नगर कार्यपालिकाले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा नगरपालिका मुख्य कार्यालय भवनसहित १२ वटै वडा कार्यालय पूर्णरूपमा क्षति पुगेको, सार्वजनिक सम्पत्तिमा व्यापक ध्वंस भएको र सेवाप्रवाह ठप्प बनेको उल्लेख गरिएको छ।
नगरपालिकाले घटनामा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै आन्दोलनका नाममा नगरपालिकाको सम्पत्ति ध्वस्त पार्ने कार्य आपराधिक गतिविधि भएको ठहर गर्दै यसको निन्दा गरेको छ।
बैठकमा पछि जारी गरिएको विज्ञप्तिमा क्षतिग्रस्त कार्यालयहरूको भौतिक विवरण संकलन गरी पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाइने र तत्कालीन सेवाप्रवाह अवरुद्ध नहोस् भनी वैकल्पिक व्यवस्था गरेर कार्यालय सञ्चालन गरिने निर्णय भएको छ।
नगरपालिकाले सिद्धनाथ माध्यमिक विद्यालयको खाता सञ्चालनका लागि शिक्षा शाखा मार्फत विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिने जनाएको छ। विद्यालयहरूको खाता सञ्चालन लगायतका प्रक्रियामा अड्चन नआओस् भनी बिहिबारको बैठकले स्पष्ट निर्णय गरेको छ।
Comments are closed.