सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुग्यो
धनगढी, ३ असार
सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार जना पुगेको छ । बुधबार धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जना पुरुषको मृत्यु भएसँगै सुदूरपश्चिममा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।
शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेका पुरुषको बुधबार साँझ मृत्यु भएको हो । उहाँको मङ्ंगलावार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । मङ्गलबारदेखि नै उपचारको लागि काठमाण्डौ लैजान एयर एम्बुलेन्सको लागि पहल भए पनि एयर एम्बुलेन्स पाइएको थिएन । यसअघि ती पुरुषको नवजीवन अस्पतालको आइसोलेशनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । मङ्ंगलबार मात्रै कोरोनाको कारण कैलालीकी एक महिलाको मृत्यु भएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको मङ्गलवार मृत्यु भएको थियो । बुधबार उहाँको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेको कारण उपचार गर्न गएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मङ्गलबार मृत्यु भएकी महिलामा बुधबार कोरोना पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
यसअघि डायलसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो । दुई हप्ताअघि प्रादेशिक अस्पतालको डायलसिस वार्डमा उहाँको मृत्यु भएको थियो । उहाँको सेतीमा डायलसिस सुरु गरेको पाँच मिनेटमै मृत्यु भएको थियो । बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलसिस सुरु गर्नुअघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचको लागि थ्रोट स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । त्यस्तै बाजुराको जिल्ला अस्पताल आइसोलेशनमा राखिएकी बालिकाको मृत्यु भएपछि सङ्कलन गरिएको थ्रोट स्वाब परीक्षण गदौ कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.