सुदूरपश्चिममा बिहीवार २ सय ३८ जनामा कोरोना पुष्टि
धनगढी, ४ असार
सुदूरपश्चिममा बिहीवार २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २ सय १३, धनगढी प्रयोगशालामा २४ र बाँकेमा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २४ जनामा कोरोना पाइएको हो।
तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरका २०, कैलालीका तीन र अछामका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन्। बिहीबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको थियो। डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको थियो।
यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भइसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।
शुक्लाफाँटा खबर
6604 posts
Comments are closed.