नाकाबाट आउनेको संख्या घट्दो

नाकाबाट आउनेको संख्या घट्दो
धनगढी, ४ असार
सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बिहीबार ८७६ नेपाली भित्रिए भने १४२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उहाहरू लामो लकडाउनले खान बस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार बिहीबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २६९ नेपाली नागरिक भित्रिएका छन् भने ४६ जना भारतीय नागरिक बाहिरिएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट ६०७ नेपाली नागरिक भित्रिएका छन् भने ९६ भारतीय नागरिक बाहिरिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १७ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार बढी पुगेको छ । नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट आउने नेपालीको सङ्ख्या कम हुँदै गएपछि स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा समेत मानिस कम हुँदै गएका छन् । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बिताएपछि परीक्षण गरी उहाहरूलाई घर पठाउने व्यवस्था गरिएको छ । घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा कैलालीकै सबैभन्दा बढी करिब तीन हजार पाँच सय मानिस बस्दै आएकामा अहिले उक्त सङ्ख्या घटेर करिब एक हजारमा झरेको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.