महेन्द्रनगर । गाजा र इजरायलको द्वन्द्वमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज (कार्तिक ३ गते) सोमबार २ः३५ बजे दुबईबाट काठमाडौं आईपुग्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको शव फ्लाइ दुबईको उडानमार्फत् नेपाल आइपुग्ने भएको हो ।
उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ः३५ बजे अवतरण गर्ने तालिका रहेको छ । सहप्रवक्ता भुलका अनुसार, पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ । नेपाली सेनाका अनुसार, विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विमान मार्फत धनगढी विमानस्थल पु¥याइनेछ ।
त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । यसैबीच, प्रधानमन्त्री सुशिला कार्कीले बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने जनाएको छ । २३ वर्षीय जोशी कृषि तालिम कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा उनलाई अलुमिम किबुजबाट बन्धक बनाइएको थियो।
इजरायली रक्षा बल (आईडीएफ) का अनुसार बन्धक बनाइएको केही महिनाभित्रै उनको मृत्यु भएको अनुमान गरिएको छ। गाजा युद्धविराम सम्झौता अनुसार हमासले अक्टोबर १३ मा रेडक्रस मार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो।
त्यसपछि तेल अविवस्थित राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रमा उनको शवको पहिचान गरिएको थियो। विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलमा कृषि अध्ययन गर्न गएका थिए। आक्रमणका बेला उनीसँगै रहेका अन्य १६ जना नेपाली विद्यार्थीहरू पनि प्रभावित भएका थिए। जसमध्ये १० जनाको मृत्यु भएको थियो।
Comments are closed.