महेन्द्रनगर । कञ्चनपुरमा १२ हजार नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि घोषणा भएपछि असोज १० गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली दर्तामा जिल्लामा १२ हजार ३ सय ५ जना नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमै पुगेर ४ हजार २ सय १३ जनाले मतदाता दर्ता गराएका छन् । जसमध्ये पूरुष १ हजार ६ सय ९ जना र महिला २ हजार ५ सय २३ जनाले नयाँ मतदाता बनाएको जिल्ला निर्वाचन अधिकारी हरिश चन्द्र जोशीले जानकारी दिनु भयो ।
यसैगरी राष्ट्रिय परिचय पत्र मार्फत नयाँ मतदाता बनाउनेको संख्या बढी छ, जस्मा ८ हजार ९२ जनाले राष्ट्रिय परिचय पत्र मार्फत आफनो नयाँ मतदातामा नाम दर्ता गरेका छन् । मंसिर २१ गतेदेखि मतदाता अद्यावधिक कार्य सुरु हुने र अद्यावधिकपछि मतदाताको संख्या केही घट्न सक्ने पनि उहाँले बताउनु भयो ।
यस अवधिमा सबैभन्दा धेरै मतदाता कैलाली जिल्लामा थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा राष्ट्रिय परिचयपत्रमार्फत १२ हजार ११५ र कार्यालयमा उपस्थित भएर ६ हजार १ सय गरी जम्मा १८ हजार २१३ जनाले नाम दर्ता गराएका छन्।
अन्य जिल्लामा बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८, अछाममा २ हजार ६०४, बझाङमा २ हजार ३४५, डडेल्धुरामा १ हजार ८९२, डोटीमा १ हजार ८७२ र बाजुरामा १ हजार ५१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार असोज १० गतेअघि सुदूरपश्चिममा १६ लाख ७४ हजार मतदाता दर्ता भएका थिए ।
४६ हजार २० नयाँ मतदाता थपिएसँगै प्रदेशभर मतदाताको संख्या १७ लाख २० हजार नाघेको छ ।सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन् ।
प्रक्रियामा राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार ४३९ र पुगेर १६ हजार ५८१ जनाले नाम दर्ता गराएका हुन् ।
Comments are closed.