आईसोलेशन तीन दिन भित्रै संचालनमा आउने
धनगढी, ५ असार
कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिरहेको आईसोलेशन तीन दिन भित्रै संचालनमा आउने भएको छ । चाडोभन्दा चाडो संचालनमा ल्याउनका लागि रातदिन काम गरिरहेका धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनु भयो र धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ । १ सय ५० भन्दा बढी बेडको आसोलेशन बनाउन सकिने ठाउँ आफुहरुसंग रहेको बताउदै नगरप्रमुख वडले धनगढी नगरका कोरोना संक्रमितहरुलाई उपचार गर्न आवश्यक पर्ने जती सैया राख्ने बताउनु भयो । यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताउनु भयो । सेती प्रादेशीक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि संक्रमितहरुको संख्या बढेकाले आईसोलेशनमा राख्नपर्ने बिरामीले पनि ठाउँ नपाएको बताउनु हुनै नगर प्रमुख वडले सबै स्थानीय तहले आफै आईसोलेशन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्ने बताउनु भयो । उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको नगरप्रमुख वडले जानकारी दिनु भयो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले आईसोलेशन भित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताउनु भयो । पुरुष र महिलाका लागि फरक फरक कक्षहरु रहेको बताउदै उप–प्रमुख भट्टले यस बिषयमा आफुहरु संवेदनशील रहेको बताउनु भयो । धनगढी उप–महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारीन्टाईन बनाएको पनि उप–प्रमुख भट्टले स्मरण गराउनु भयो । धनगढी उप–महानगरपालिकाका कोभिड उप–समितिका संयोजक नारायण बरालले आईसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताउनु भयो । प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आईसोलेशन कक्ष त्यही थप गर्न सकिने संयोजक बरालले बताउनु भयो । बिरामीको चाप भैरहने सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पताल बनाउँदा संक्रमितहरुको उपचारमा समस्या भएको उहाले बताउनु भयो । गेटा मेडिकल कलेजमा ५ सय भन्दा बढी आईसोलेशन कक्ष बनाउन सक्ने ठाउँ रहेको बताउदै बरालले सुरुमै बनाएको भए प्रदेशभरी नै आईसोलेशनको समस्या नहुने बताउनु भयो ।
आईसोलेशनमा मानविय सेवामा अनेकौ प्रयासको सहयोग
यसै क्रममा मानविय सेवामा अनेकौ प्रयास संस्थाले आईसोलेशनका लागि आपतकालिक राहत सामाग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीले आईसोलेशनमै पुगेर २५ थान बेडिङ्ग म्याट्रेस, ५० थान सुपानेट झुल, २८ थान तन्ना, २८ थान तकिया उपलब्ध गराएको हो । जोशीले नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट र नगर कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बराललाई सामाग्री हस्तान्तरण गर्नु भयो । उहाले आवश्यकता अनुसार सहयोग गर्ने बताउनु भयो ।

शुक्लाफाँटा खबर
5383 posts
Comments are closed.