महेन्द्रनगर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलवारदेखि सुरु भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म विविध कार्यक्रम गर्दै मनाइन्छ । यो वर्ष ’प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाले पनि १६ दिने अभियान सुरू गरेको हो । ३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्गलवार पालिकाले सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, कार्यक्रमको सभाध्यक्षतामा पालिकाका उपप्रमुख तुलसी जोशी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक शागर बोहरा, विभिन्न संघसंस्थाहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोहराले नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएको बताउनु भयो । वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको जानकारी गराउनु भयो ।
यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँने गरीएको बताउनु भयो ।
महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु,यसको मुख्य उदेश्य रहेको बताउनु भयो ।
साथै, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेको पनि बताउनु भयो । अहिले पनि हाम्रो समुदायमा विभेद कायमै रहेको भएर यस्ता कार्यक्रमले पनि ति विभेदलाई कम गर्न मद्धत पुग्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका सभाध्यक्ष उपप्रमुख जोशीले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको बताउनु भयो ।
अहिलेको २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न नसकेको बताउनु भयो । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको भएपनि अहिले पनि विभेद कायमै रहेको बताउनु भयो ।
लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक बोहराले लैङिगक हिँसा विरुद्धको विषयमा कडा कानुनी व्यवस्था भएपनि समुदायमा विभेदका घटनाहरु भईरहने, महिलाहरुले न्यायको लागी गुहार गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
अहिले पनि हाम्रो समाजमा छोरी जन्मदा दुखी हुने, छोरा जन्मदा हर्षाेल्लास भएर खुसीयाली मनाउने परम्परा कायमै रहेको र विभेद जन्मबाट, पेटबाट नै सुरु भएको बताउनु भयो ।
महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले यो १६ दिने अभियान अन्तरगत पालिकामा रहेका १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरीने बताउनु भयो ।
Comments are closed.