महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ऋण लिएर अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध बिहीबार मुद्दा दायर गरिएको हो।
अख्तियारको आरोपपत्रमा सवइन्जिनियर जय कुँवर, असिस्टेन्ट सवइन्जिनियर तेजबहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथलाई प्रतिवादी बनाइएको छ।
कर्मचारीसँगको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० वर्ग मिटर जग्गामा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको अख्तियारले जनाएको छ।
गाउँपालिकाका तत्काली प्रशासकीय अधिकृत जोशीसहितका कर्मचारीको मिलोमतोमा कागजात पारेर किर्ते गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त स्थानमा कुनै पनि भौतिक संरचना नभेटिएको खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी राखेर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Comments are closed.