पाँच हजार बढी स्वाबको नमुना परीक्षणका लागि काठमाण्डौ पठाइयो
धनगढी, ६ असार
सुदूरपश्चिम प्रदेशमा सङ्कलन गरिएको पाँच हजार बढी स्वाबको नमुना परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । विभिन्न जिल्लाबाट सङ्कलन गरिएको पाँच हजार चार सय १२ जनाको स्वाबको नमुना परीक्षणको लागि काठमाण्डौ पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा नमुना परीक्षण गरिनेछ । विभिन्न क्वरेण्टीनमा बसेका तथा सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको नमुना पठाइएको निर्देशक अवस्थीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा चाप बढी भएपछि यसअघि दुई हजार ६६ जनाको नमुना पठाइएको थियो । यस्तै सङ्घीय सरकारले कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्दा आवश्यक पर्ने भीटीएम पठाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भीटीएम पठाएको जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेको उहाँले बताउनुभयो । भीटीएम ल्याइएसँगै फेरि स्वाब सङ्कलनको काम आइतबारदेखि सुरु हुने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । प्रदेश सरकारसँग भीटीएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणको लागि स्वाब सङ्कलन हुन सकेको थिएन । तर पालिकाले भने भीटीएम खरिद गरेर स्वाब सङ्कलन जारी राखेका थिए ।
Comments are closed.