सुदूरपश्चिमका तराइका जिल्लामा कुहिरा लागेपछि चिसो बढ्यो, जनजीवन कष्टकर

महेन्द्रनगर । सुदूरपश्चिमका तराइका जिल्लामा अत्यधिक चिसो बढेको छ । कुहिरो र हुस्सुले बिहीबार देखि घाम नलागेपछि तराइका जिल्लाहरूमा चिसो बढेको हो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार लगातार घाम नलागेपछि शुक्रवार देखि अधिकतम तापक्रममा पनि कमी आएको छ ।

जसले गर्दा चिसो महसुस भएको छ ।कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले शुक्रवार न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको बताए ।

उनले शुक्रवार अधिकतम तापक्रम पनि १३.६ डिग्री सेल्सियस मात्रै मापन गरिएको बताए । अधिकतम तापक्रम पनि बढ्न नपाउँदा चिसो महसुस भएको उनको भनाई छ ।

शनिवार पनि न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५.१ सेल्सियस मापन गरिएको छ ।बिहीबार भने न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिए पनि अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै बुधवार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस र अधिकतम १९.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।घाम नलागेर चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ ।

बिहान र साँझको समयमा बाक्लो कुहिरोले ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा कठ्याङ्ग्रिँदो चिसो अनुभव भइरहेको छ ।

सम्बन्धित

Comments are closed.