महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा महाकुम्भ मेला लाग्ने भएको छ।
यो वर्ष १४४ वर्षमा कुम्भ मेला लाग्ने धामका पिठाधिश्वर आचार्य गणेशप्रसाद पन्तले बताए।बनारसी धाममा हरेक १२ वर्षमा कुम्भ लाग्ने गरेको यो वर्ष १४४ वर्षको अवसरमा माघ १ गते मकर स्नानसँगै महिनाभरी मास पारायण मेला लाग्ने पन्तले बताए।
महाकुम्भ मेलाको अवसरमा माघ ५ गतेदेखि हरेक वर्ष झै यो पटक पनि शुक्ल प्रतिपदादेखि नवरात्र सुरू हुने र माघ १४ गते शल्य दशमीको दिन मेला लाग्ने पन्तले बताए।
बनारसी धाममा हरेक वर्ष माघ महिनाको शुल्क प्रतिपदादेखि दशमीसम्म मेला लाग्ने गर्छ। उक्त मेलामा बैतडीसहित भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट भक्तजन आउने गरेको पन्तले बताए।
४२१ वर्षदेखि जातीय छुवाछूत मुक्त
बनारसी धाममा ४२१ वर्ष अगाडि छुवाछूत उन्मुलन गरिएको हो। त्यहाँ कुनै पनि किसिमको जातीय विभेद गर्न पाइदैन। बैतडीको पाटन९३ मा रहेको तत्कालीन मैनावतीकोटका महाराजा मानुक चन्दको पालादेखि वीरभद्र, वसी पन्त र गोपेश्वर पन्त लगायतका राजगुरूहरूको पहलमा बनारसी धाममा छुवाछूतरहित समावेशीमुलक व्यवहार गर्न थालिएको पन्तले बताए।
बनारसी धाममा मूल पुजारी वयनी लुहार थरका व्यक्ति रहने परम्परा छ। धामको मूल पुजारीमा अहिले ६ जना दलित समुदायका व्यक्ति छन्।
जसमा कुणीका धिरे लुहार, बस्तीका पदमे लुहार, बोहरीका गौरे लुहार, नङाणीबाटाका नरिभान लुहार, खिपालीका झुले लुहार र गोकुलेश्वरबाट जनक लुहार मन्दिरका मूल पुजारी रहेका छन्।
पुजा गर्न सबैभन्दा पहिले कुणीबाट पालो सुरू हुने र क्रमशः गोकुलेश्वका पुजारीले पूजा लगाउने नियम छ।बनारसी धाममा पाटन(३ गुजारबाट पुजारीहरू आफैं गएर पुजा सामग्री ल्याउने परम्परा छ।
यस्तै, बगाडीबाट आउने तत्कालीन मानुक चन्दका सन्तान मध्ये चुनिएर आएका चन्द थरका व्यक्ति सहस्त्रलिङ्गको धामीसँगै सिंहासनमा बसेर पुजा सघाउने र निर्देशन दिने गर्छन्।
यस्तै, गुजरस्थित सुकाबैनाका भट्ट परिवारका मुखिया आएर पुजाआजामा खटिने गर्छन्।
Comments are closed.