इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

महेन्द्रनगर । श्री इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रम संस्थाका अध्यक्ष शिवराज भट्टको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पदमसिंह कुँवरले गर्नुभएको थियो। कार्यक्रममा संस्थापक समिति सदस्यहरूलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो। साथै उदयदेव माध्यमिक विद्यालय, सुन्दरपुरका गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ।

यसका अतिरिक्त सहकारी संस्थाको स्थापना, सञ्चालन र विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख तुलसी जोशीले सहकारी संस्थाहरू स्थानीय आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुभयो।

उहाँले कृषि सहकारीमार्फत किसानको उत्पादन वृद्धि, बजारीकरण र आयआर्जनमा टेवा पुग्ने बताउँदै नगरपालिकाले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। चयन भएको कार्यसमितिमा शिवराज भट्ट अध्यक्ष, नरेश ठोकुराठी उपाध्यक्ष, पदमसिंह कुँवर सचिव र शंकरदत्त भट्ट कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा घुमन सिंह राणा, दलबहादुर कुँवर, राजबहादुर रेडी, हेमादेवी बोहरा र हरिना बिष्ट भाट चयन भएका छन्। साथै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा मदनराज पन्त चयन भएका छन् भने प्रभुराज जोशी र चन्द्रा भाट सदस्य चयन भएका छन्।

सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्य–मैत्री बनाउँदै कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने संकल्पसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित

Comments are closed.