महेन्द्रनगर । थारु समुदायमा भलमन्सा चयनको कार्य चटारो चलेको छ । गाउँको नेतृत्व गर्नका लागि भलमन्सा छानिन थालेको हो । माघ पर्वको अन्तिम दिनबाट यो समुदायमा भलमन्सा र बरघर चयनको कार्य थालिन्छ । यस कार्यलाई खोज्नीबोज्नीरभुराखेल भन्ने गरिन्छ ।
भलमन्सा चयनको कार्य माघ पर्वको अन्तिम दिननै गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आ–आफ्नो गाउँको समयानुकुल माघ महिनाभरी भलमन्सा चयनको कार्य गर्ने गरिन्छ ।विगतदेखि माघ पर्वको अन्तिम दिन भलमन्सा चयन गर्दै आएका गाउँवासीहरूले भने माघ महिनाको सुरुवातमै नेतृत्व चयन गरेको थारू कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यबाहक सभापति माधव थारूले बताउनु भयो ।
भलमन्सा थारू समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरिका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ ।
भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ । भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ ।
राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँवासीमा रहने गर्दछ । तर, काम चित्त नबुझेमा गाउँवासी मध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ ।
भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्रै नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् । गाउँमा भलमन्सासहित अघरिया ९सहायक भलमन्सा०, सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ । अघरिया भलमन्साको सहायक हुन ।
सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसैगरी, चौकीदारको भूमिका सन्देशबाहकको रूपमा रहने गर्दछ । चौकीदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् ।
यस्तै, गाउँमा फलाम कुटपिट गर्ने कामका लागि लोहार राख्ने चलन छ । चौकीदार र लोहारले पारिश्रमिक पाउने गरे पनि भलमन्सा, अघरिया, सचिवले निःशुल्क रूपमा काम गर्ने चलन रहेको छ ।
यद्यपि, पछिल्लो समय कतिपय गाउँमा यिनीहरूलाई पनि पारिश्रमिक दिने अभ्यास हुन थालेको छ ।
Comments are closed.