महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै अग्रणी तथा प्रतिष्ठित शैक्षिक संस्था कञ्चनपुरको भीमदत्त नगरपालिका १८, महेन्द्रनगरमा अवस्थित रेडियन्ट माध्यमिक विद्यालयले स्थापना भएको २५ वर्ष पूरा गरेको छ । विद्यालयले शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गर्दै आफनो २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती भव्य रूपमा मनाएको हो ।

२०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पसका १३ जना अनुभवी प्राध्यापक तथा शिक्षाविद्हरूको सक्रिय पहलमा स्थापना गरिएको रेडियन्ट माविले सीमित स्रोतसाधनका बीच १७ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको थियो । आज नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने व्यवस्था सहित विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विगत २५ वर्षको अवधिमा शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीमार्फत सुदूरपश्चिममै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ।

उक्त कार्यक्रममा विद्यालयमा अधययन गरीरहेको विद्यार्थीहरुले एमविविएसमा नाम निकाल पछि सम्मान गरएिको थियो । साथै उक्त विद्यालयमा अध्ययन गरेर अहिले विभिन्न सरकारी कार्यालयमा सेवा दिईरहेका र डाक्टर बन्न सफल रहेकाहरुलाई पनि सम्मान गरीएको थियो ।
विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टका अनुसार पछिल्ला वर्षहरूमा एसईई तथा कक्षा १२ का परीक्षामा रेडियन्ट माविले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
यस वर्षको कक्षा १२ को परीक्षामा समेत विद्यालयले देशभर उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँले जानकारी दिनुभयो । रेडियन्ट माविबाट अध्ययन पूरा गरेका सयौँ विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सरकारी तथा निजी संस्था, शैक्षिक निकाय, बैंक, स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सफल पेशागत जीवन बिताइरहेका छन् ।
२५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व विद्यार्थी, शिक्षाविद् तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहका अवसरमा शैक्षिक योगदानकर्ताहरूको सम्मान, सांस्कृतिक कार्यक्रम, पूर्व विद्यार्थी सम्मान तथा भविष्यको शैक्षिक योजना सार्वजनिक गर्ने कार्यक्रमसमेत समावेश गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा प्रविधिमैत्री शिक्षण, स्मार्ट कक्षा, अनुसन्धानमुखी शिक्षण, छात्रवृत्ति कार्यक्रम विस्तार तथा उच्च शिक्षाका नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
२५ वर्षको सफल यात्रासँगै रेडियन्ट माध्यमिक विद्यालयले सुदूरपश्चिमको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने आगामी दिनमा अझै गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments are closed.