महेन्द्रनगर । कञ्चनपुरमा पसलै पिच्छे फरक तौलमा दैनिक उपभोग्य सामानहरु विक्री वितरण भई रहेको छ । अहिले प्राय सबै पसलहरुमा विधुतिय ( डिजिटल ) तराजुहरु रहेको र आफै पनि मिलाउन सक्ने भएर तौल फरक रहने गरेको पाईएको छ । साथै पुराना ढक तराजुमा पनि ढकहरुको तौल पुरा नहुने गरेको पाइएको उपभोक्ताहरुको भनाई रहेको छ ।
भीमदत्त नगरपालिका ४ की गिता भट्टले तरकारीहरु राशनहरुमा बढी ठगी भईरहेको बताईन । शब्जीमण्डीबाट एक धार्नी आलु खरिद गरेर ल्याईन तर उक्त पोलिथिनमा रहेको आलुमा पुरा ५ किलो आलु नभएको उनले बताईन ।
‘बेलुकीको समय थियो मैले आलु किन्ने भनेर त्यँहा रहेका एकजना व्यापारीले धार्नीको सय भनेर बेचि रहेका थिए, मैले पनि किने तर मलाई शंका लाग्यो उक्त प्लाष्टिकमा हालेको आलु कम छ की भन्ने लाग्यो, मैले भने यो कम छ खोई तौल गरौ त भने, ति व्यापारीले तौल गर्न मानेन,
मैले जोर जोरले बोल्न थाले अनि मात्रै तौल गर्न माने तर आधा किलो आलु नै कम थियो’ उनले भनीन, ‘त्यसपछी मैले ति व्यापारीलाई भने यसरी ठग्ने, कम तौलमा बढी पैसा लिने भनेर भने, उल्टै मलाई नै भो भो बढी नबोल्नु भनेर हप्काए’ । यस्तो ठगी गर्ने व्यापारीहरुलाई कारवाही हुनुपर्ने उनले बताए ।
आम उपभोक्ताहरुलाई ठगेर कम तौलमा बढी पैसा लिएर ठग्ने व्यापारी व्यावसायी सबैलाई स्थानिय सरकारले समय समयमा अनुगमन गरिनु पर्ने र कारवाही हुनुपर्ने उनले बताईन् ।
अहिले बजारमा रहेका कतिपय पसलहरुमा डिजिटल तराजु राखिएको भेटिन्छन ती डिजिटल तराजु र अन्य तराजुको तौल ठिक छ वा छैन भनेर अनुगमन पनि कम हुने गरेको पाईएको छ ।
बजारमा चाडपर्व लक्षित मात्रै अनुगमन हुने अरु समयमा बजार अनुगमन नहुने भएपछि व्यापारीहरुले कम तौल गर्ने र सामानको पैसा बढी लिने गर्ने वेदकोट नगरपालिका ३ दैजीका स्थानिय प्रकाश भट्टले बताए ।
‘सामान तौल गर्ने तराजु बिग्रीएर पनि चलाई रहेका हुन्छन् उसको तौल ठिक छ की छैन भनेर हामी उपभोक्ताले पनि हेर्दैनौ र सरकारले पनि हेरेको छैन्‘ । उनले भने, ’अहिले वडा सरकार छ पालिका छ तर पनि यो बजार अनुगमन कम भएर नै यस्तो कालोबजारी भएको हो’ ।
महेन्द्रनगरको प्रमुख बजार भीमदत्त नगरपालिका वडा नम्वर ४ मा रहेको छ । यहाँ फेन्सी पसल, तरकारी बजार, मासु पसल, खाद्यन्न पसल लगायत सबै पसल रहेका छन् ।
Comments are closed.