महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले सरकारलाई दबाब दिएर भूमि सम्बन्धी ऐन पारित गराएको बताएका छन्।
उनले आयोग, समिति र संसदमार्फत ऐन पारित गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन्।
‘राष्ट्रियसभामा जाने क्रममा जेनजी आन्दोलन भयो, त्यसका कारण राष्ट्रिय सभाबाट ऐन पारित हुन सकेन,’ उनले भने, ‘अव्यवस्थित बसोबासी र आरक्ष पीडितको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्नेछु।’
बिहीबार नेपाल दलित संघ निर्वाचन क्षेत्र नं। २ ले आयोजना गरेको भेलामा बोल्दै साउदले अव्यवस्थित बसोबासी र आरक्ष पीडितका समस्या दीर्घकालीन रूपमा समाधान गर्न कानुनी तथा नीतिगत पहल गर्ने बताए।
‘पीडित समुदायको न्यायोचित माग सम्बोधन गर्न म विगतदेखि नै लागिपरेको छु, आगामी दिनमा पनि निरन्तर लागिरहनेछु,’ उनले भने। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता गर्दै उनले दलित समुदाय ऐतिहासिक रूपमा उत्पीडनमा परेको बताए।
‘परम्परागत सिपलाई मात्र पहिचानका रूपमा सीमित गरिएको छ,’ उनले भने, ‘दलित समुदायले समाजमा प्राविधिक ज्ञान र सेवा प्रदान गर्दै आएको छ, नेतृत्व तहमा पुग्न अवसर प्रदान गरिनेछ।’दलित समुदायले विगतदेखि नै आन्दोलन र समाज निर्माणमा अग्रणी भूमिका खेल्दै आएको साउदले बताए।
उनले संविधानको रक्षा, राष्ट्रिय सार्वभौमसत्ता, एकता, अखण्डता र स्थायित्वका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए।
‘नेपाली कांग्रेस २००७ सालदेखि जनताको पक्षमा काम गर्दै आएको पार्टी हो, परिवर्तनको संवाहक र विकासको सहयात्री कांग्रेस नै हो,’ उनले भने। आफू तीन पटक जनताबाट निर्वाचित भइसकेको बताउँदै साउदले आगामी निर्वाचनमा पनि जनताले विश्वास गर्ने बताए।‘म जनताको नजिक छु, जनताकै पक्षमा काम गरेको छु र आगामी दिनमा पनि जनताकै पक्षमा काम गर्नेछु,’ उनले भने।
Comments are closed.