महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ जानकी टोल स्थित फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुल ले आफ्नो २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।
वि.स. २०५७ सालमा भीमदत्त नगरपालिका–१५ गोवरैयाबाट स्थापना भएको यस विद्यालयले यस वर्ष आफ्नो २५ औं वसन्त पूरा गरेको हो । शिक्षाप्रेमी तथा समाजसेवी स्व. प्रताम राम लोहारद्वारा स्थापित यस विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
हालसम्म यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू देश तथा विदेशका उच्च तहमा रही कार्यरत छन्, जसले विद्यालय, परिवार र राष्ट्रको मान–सम्मान बढाएका छन् ।
कञ्चनपुरका उत्कृष्ट विद्यालयहरूमध्ये पर्ने फलोरिडाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ ।
संस्थापक प्रताम राम लोहारको स्वर्गारोहणपछि पूर्व अञ्चलाधीश तथा शिक्षाप्रेमी व्यक्तित्व उत्तम राम टमाटाले विद्यालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
मण्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा हाल ९५० भन्दा बढी छात्र–छात्रा अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक जयराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन भवानी चलाउने प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।
२५ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Comments are closed.