महेन्द्रनगर । मणिका धाम (मुडका) मा लाग्ने परम्परागत मेला (जाँत) को तयारी पूरा भएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा यही फागुन १३ र १४ गते मेला आयोजना हुँदैछ।
वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका काम सम्पन्न भएका छन्।
मन्दिरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सफा गर्ने र आवश्यक संरचना मिलाउने कार्य सकिएको समितिले जनाएको छ।
दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ। समितिका अध्यक्ष पुरन हमालका अनुसार मन्दिर परिसर र आसपास क्षेत्र दर्शनार्थीका लागि छुट्याइएको छ भने मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ।
सवारी आवतजावतका लागि सडक मर्मत कार्य अघि बढाइएको र खानेपानीको उचित प्रबन्ध मिलाइएको जानकारी दिइएको छ।
शान्ति सुरक्षालाई प्राथमिकता दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको र मेला अवधिभर सुरक्षा व्यवस्था कडा पारिने जनाइएको छ।
समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई दर्शनमा प्राथमिकता दिने निर्णय गरिएको छ।
Comments are closed.