महेन्द्रनगर । समाजसेवी तथा युवा चिन्तक विनय प्रकाश मल्ल ले स्थानीय तह स्वतन्त्र र गैरदलीय हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले स्थानीय सरकारलाई केवल सत्ता सञ्चालन गर्ने निकायका रूपमा नभई जनताको आशा, भरोसा र भविष्य बोकेको साझा संस्था भएको बताएका छन्।
मल्लका अनुसार स्थानीय तह भनेको जनताले सबैभन्दा पहिले ढोका ढकढक्याउने सरकार हो। गाउँको सडक भत्किँदा, धारामा पानी नआउँदा, विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा, स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा वा विपन्न परिवार समस्यामा पर्दा जनताले सबैभन्दा पहिले सम्झिने निकाय नै स्थानीय सरकार हो।
त्यसैले स्थानीय तह कुनै पार्टीको झण्डाभन्दा माथि उठेर सम्पूर्ण नागरिकको साझा घर बन्न आवश्यक रहेको उनले बताएका छन्। उनले भने, “जनताको पीडा पार्टी हेरेर आउँदैन, समस्या दल हेरेर जन्मिँदैन।
त्यसैले समाधान पनि दलीय सोचबाट होइन, मानवीय संवेदनाबाट खोजिनुपर्छ।” उनका अनुसार जब स्थानीय तह अत्यधिक दलीय प्रभावमा चल्छ, तब गाउँ–टोलमा समेत विभाजनको रेखा कोरिन थाल्छ।
एउटै समाजभित्र पक्ष–विपक्ष, रिसइबी, आफ्ना–पराया जस्ता भावना बढ्दै जान्छन्, जसले सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने खतरा रहन्छ।
मल्लले स्थानीय सरकारको वास्तविक शक्ति जनताको विश्वास भएको उल्लेख गर्दै त्यो विश्वास जोगाउन स्थानीय तहले सबै नागरिकलाई समान दृष्टिले हेर्न सक्नुपर्ने बताए।
उनका अनुसार स्थानीय सरकारमा बस्ने व्यक्तिले पार्टीको आदेशभन्दा जनताको आवश्यकता बुझ्न सक्नुपर्छ। विकासका योजनाहरू चुनाव जित्ने नाराका लागि होइन, भावी पुस्ताको भविष्य सुरक्षित गर्ने सोचका साथ निर्माण हुनुपर्ने उनको धारणा छ।
उनले इमानदार, सक्षम र समाजप्रति उत्तरदायी व्यक्तिहरूले स्थानीय तह सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको पहुँच ठूलो कुरा होइन, जनताको मन जित्नु ठूलो कुरा हो भन्दै उनले सामाजिक योगदान, क्षमता, अनुभव र नैतिकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
गाउँको विकास त्यतिबेला मात्र सम्भव हुने उनको भनाइ छ, जब नेतृत्वमा कुर्सीको मोहभन्दा सेवा गर्ने भावना बलियो हुन्छ। मल्लले स्थानीय तह स्वतन्त्र हुँदा भ्रष्टाचार, शक्तिको दुरुपयोग र अनावश्यक राजनीतिक हस्तक्षेप कम हुने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार विकासको नाममा हुने अस्वस्थ प्रतिस्पर्धा, बजेटको दुरुपयोग तथा पहुँचका आधारमा हुने विभेद स्वतन्त्र स्थानीय शासन व्यवस्थाले घटाउन सक्छ। उनले थप भने, “स्थानीय सरकारको मुख्य काम राजनीति गर्नु होइन, जनताको दैनिक समस्या समाधान गर्नु हो।”
दलीय प्रभाव कम हुँदा निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बन्ने उनको विश्वास छ। उनले स्थानीय तहलाई जनताको दुःखमा साथ दिने, आशा जगाउने र समाजलाई जोड्ने संवेदनशील संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अन्त्यमा मल्लले समृद्ध गाउँ, एकताबद्ध समाज र न्यायपूर्ण विकासको आधार नै स्वतन्त्र स्थानीय तह भएको उल्लेख गर्दै, जब स्थानीय सरकार साँच्चै जनताको हुन्छ, तब विकासले केवल सडक होइन, मानिसहरूको मन पनि जोड्न थाल्छ भन्ने धारणा व्यक्त गरेका छन्।
Comments are closed.