महाकालीको भुजेलाघाट क्षेत्रमा जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

महेन्द्रनगर । महाकाली नदीको भुजेलाघाट आसपासका क्षेत्रमा नुहाउने र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सचेतना अभियान सुरु गरिएको छ।

मलामी आउँदा वा अन्य विभिन्न बहानामा नदीमा जाँदा हुन सक्ने थप दुर्घटना र जोखिमलाई जनचेतनामार्फत रोक्न भीमदत्त नगरपालिका वडा नम्बर ११ को कार्यालयसहित विभिन्न सरोकारवाला निकायहरू संयुक्त रूपमा मैदानमा उत्रिएका हुन्।

सो क्षेत्रका जोखिमपूर्ण स्थानहरू पहिचान गरी ‘पौडी खेल्न निषेध’ गरिएका सचेतनामूलक बोर्डहरू राख्ने कार्य सम्पन्न भएको छ।भीमदत्त नगरपालिका वडा नं. ११ को समन्वय, सुदृढ परियोजना एनएनएसडब्लुए, उत्थानशील युवा सञ्जाल र स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सक्रियतामा उक्त सचेतना बोर्डहरू राखिएका हुन्।

अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाका अनुसार भुजेलाघाट क्षेत्र धार्मिक कार्य तथा मलामका लागि बढी प्रयोग हुने भए

पनि कतिपयले नदीको गहिराइ र बहावको बेगलाई आँकलन गर्न नसक्दा दुःखद घटनाहरू निम्तिने गरेका छन्। अध्यक्ष थापाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सामाजिक संस्थाहरूको संयुक्त प्रयासमा राखिएका यी सचेतना बोर्डहरूले नागरिकलाई सचेत गराउने र सम्भावित मानवीय क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
पछिल्लो समय महाकाली नदीको यस क्षेत्रमा सावधानी नअपनाउँदा दुःखद घटनाहरू बढिरहेकाले सरोकारवाला निकायहरूले नदी किनारमा जाँदा विशेष सतर्कता अपनाउन र निषेध गरिएका क्षेत्रमा पौडी नखेल्न सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल समेत गरेका छन्।

सम्बन्धित

Comments are closed.