महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा रहेको भुजेला खोलामा नियन्त्रण तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
वर्षायाममा खोलामा आउने बाढीका कारण आसपासका बस्ती, खेतीयोग्य जमिन तथा सडक क्षेत्रमा क्षति पुग्ने गरेको भन्दै स्थानीयले तत्काल दीर्घकालीन समाधानको माग गरेका हुन्।
स्थानीयवासीका अनुसार प्रत्येक वर्ष खोलामा आउने कटान र बाढीले जनजीवन प्रभावित हुँदै आएको छ। खोलामा तटबन्ध निर्माण, सफाइ तथा संरक्षणका लागि पर्याप्त बजेट आवश्यक रहेको उनीहरूको भनाइ छ।
समयमै उचित व्यवस्थापन नभए आगामी वर्षामा थप क्षति हुन सक्ने स्थानीयको चिन्ता रहेको छ । वडा नम्बर ११ का वार्ड अध्यक्ष प्रकाश थापाले तत्कालिन गृह मन्त्री रमेश लेखकको पहलमा केही रकम बजेट विनियोजन भएको बताउनु भयो ।
संघिय विपद कोषबाट ३ करोड १० लाख बजेट विनियोजन गरेर काम भएको भएपनि बजेट अपुग रहेको र आगामी दिनमा पनि बजेटको आवस्यक्ता रहेको उहाँले बताउनु भयो ।
त्यस पश्चात अहिले कुनै पनि सरकारले बजेट विनियोजन नगरेको उहाँको भनाइ रहेको छ । वार्ड नम्वर ११ मात्रै नभएर १२ र १३ पनि यसबाट प्रभावित रहेको भएपनि यो योजनालाई जिवन्त राख्नको लागि संघिय सरकारलाई आग्रह गर्नु भयो ।
स्थानीय तथा सरोकारवालाहरूले नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक बजेट छुट्याई खोलाको संरक्षण कार्य अघि बढाउन माग गरेका छन् ।
उनीहरूले समयमै योजना कार्यान्वयन भए स्थानीय बस्ती सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् ।स्थानिय जानकी पुन मगरले वर्षेनी आउने भुजेला खोलाको बाढीले आफुहरुले हैरानी खेप्नु पर्ने तर सरकारले कुनै पनि वास्ता नगर्ने बताउनु भयो ।
Comments are closed.