महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सहयोग तथा बिसिटिसी संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ९० दिने एसी–फ्रिज मर्मत तथा इलेक्ट्रिसियन मोटर बाइन्डिङ तालिम सम्पन्न भएको छ। तालिममा एसी–फ्रिज मर्मततर्फ २० जना र इलेक्ट्रिसियन मोटर बाइन्डिङतर्फ २० जना गरी कुल ४० जना सहभागी रहेका थिए।
सहभागीमध्ये ६ जना महिला र १४ जना पुरुष रहेका थिए। समापन कार्यक्रम भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ इन्जिनियर हिमालय सिंह ऐरको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख नीलम लेखक जोशीले वर्तमान समयको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर युवालाई सीपमूलक तालिम प्रदान गरिएको बताउनुभयो।
विशेषगरी गर्मीको समयमा एसी तथा फ्रिज मर्मत सेवाको माग बढ्ने भएकाले यस्तो तालिमले युवालाई रोजगारी र स्वरोजगारमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
उहाँले तालिमकै अवधिमा केही प्रशिक्षार्थीहरूले व्यावहारिक रूपमा एसी–फ्रिज मर्मत गरी आम्दानी गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै, ६ जनाको समूहले एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको जानकारी दिनुभयो।
प्रशिक्षार्थी दीपेश अधिकारीले ४० हजार रुपैयाँ, कमल रानाले ३० हजार रुपैयाँ, अभिषेक बिष्टले ३० हजार रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी मोटर बाइन्डिङतर्फ सुरज धामीले २० हजार रुपैयाँ, भोजराज जोशीले ६ हजार रुपैयाँ र दामोदर जोशीले ८ हजार रुपैयाँ आम्दानी गर्नु गर्वको विषय रहेको बताउनु भयो ।
तालिममा सहभागी युवाहरूले सीप सिकेर आत्मनिर्भर बन्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूले प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गरी भविष्यमा आफ्नै उद्यम सञ्चालन गर्ने योजना रहेको बताएका छन्।
वरिष्ठ इन्जिनियर हिमालय सिंह ऐरले मौसम र बजारको आवश्यकता अनुसार सञ्चालन गरिएको यस्तो तालिमले युवामा सीप, आत्मविश्वास र रोजगारीप्रतिको उत्साह बढाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पनि सम्मान गरिएको थियो। मोटर बाइन्डिङतर्फ उत्कृष्ट तीन जना र एसी–फ्रिज मर्मततर्फ उत्कृष्ट तीन जनालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। यसअघि पनि भीमदत्त नगरपालिकाले वायरिङ, कपाल काट्ने तथा वेटरसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरेको थियो।
ती तालिम लिएका धेरै युवाहरूले हाल आफ्नै व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बन्दै गएको नगरपालिकाले जनाएको छ।
Comments are closed.