महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील सामाजिक संस्था निड्स नेपालले “वन्यजन्तु हाम्रा सम्पदा हुन्, द्वन्द्व होइन, सहअस्तित्व रोजौँ“ भन्ने मूल नारासहित मानव–वन्यजन्तु अन्तरसम्बन्ध विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा निड्स नेपालको आयोजनामा सम्पन्न कार्यशालामा कार्यक्रमको सभाध्यक्षता निड्स नेपालका अध्यक्ष गंगा खरेलले गर्नुभएको थियो।

जलवायु परिवर्तन, मानव गतिविधि र वन्यजन्तुबीच बढ्दो अन्तरसम्बन्ध तथा त्यसबाट उत्पन्न चुनौतीहरूको समाधानका लागि उक्त कार्यशालामा मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न आवश्यक नीति, व्यवहार तथा समन्वयका विषयमा छलफल गरिएको थियो ।

संस्थाका कार्यक्रम निर्देशक विनोद कडाराले पारिस्थितिकीय प्रणालीमा आधारित परियोजना अन्र्तगत जलवायु परिवर्तन र वन्यजन्तुका कारण मानवमा परेको असर के छ ? जलवायु परिवर्तनले पारेको असर कारकतत्वहरु के हुन ? सरोकारवालाहरुको बुझाई के रहेको छ भनेर छलफल गर्ने उदेश्य रहेको बताउनु भयो ।
र आफुहरुले गरेको अनुसन्धानमा रहेर छलफल गर्ने र अनुसन्धानले भनेका विषयहरु कस्तो छ भन्ने विषयमा पनि छलफल गरेको बताउनु भयो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, सामुदायिक वनका पदाधिकारी, डिभिजन वन कार्यालयका प्रमुख, सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले जलवायु परिवर्तनका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उल्लेख गर्दै वन्यजन्तु संरक्षण, प्राकृतिक बासस्थानको संरक्षण तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत सहअस्तित्वको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै, वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जनलाई पनि समान रूपमा प्राथमिकता दिन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।
Comments are closed.