भिमदत्त–९ का स्थानीयले जिर्ण सडक तत्काल मर्मत गर्न गराए ध्यानाकर्षण

महेन्द्रनगर । भिमदत्त नगरपालिका(९ का स्थानीयवासीले ब्रह्मदेव बजार जाने मुख्य सडकको जीर्ण अवस्थाप्रति ध्यानाकर्षण गराउँदै वडा कार्यालयमा ५२ जनाको हस्ताक्षरसहित निवेदन बुझाएका छन्।स्थानीयले ब्रह्मदेव बजार जाने कच्ची सडक अन्तर्गत मिलदेखि श्री सिद्धनाथ माध्यमिक विद्यालय हुँदै ब्रह्मदेव सामुदायिक वन भवनसम्मको सडक खण्ड अत्यन्त जीर्ण बनेको उल्लेख गरेका छन्।

Screenshot

वर्षायाममा सडकमा हिलो र पानी जम्ने तथा हिउँदमा धुलो–धुवाँको समस्या बढ्दा पैदलयात्री, विद्यार्थी तथा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

ध्यानाकर्षण पत्रमा उक्त सडकको तत्काल निरीक्षण गरी स्तरोन्नति तथा कालोपत्रेरढलान निर्माण प्रक्रिया अघि बढाउन, पानी निकासका लागि उपयुक्त नाली निर्माण गर्न तथा निर्माण कार्य निश्चित समयसीमाभित्र सम्पन्न गर्न माग गरिएको छ।

स्थानीयले सडकको उचित व्यवस्थापन नगरी भीमगाड खोलाबाट ढुंगा–गिट्टी उत्खननलाई प्राथमिकता दिन नहुने भन्दै पहिले सडक मर्मत तथा सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन्।

जायज मागप्रति बेवास्ता भए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत स्थानीयले दिएका छन्।

उक्त ध्यानाकर्षण पत्रको बोधार्थ भिमदत्त नगरपालिकाको कार्यालय, प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई समेत पठाइएको जनाइएको छ। स्थानीयवासीले सुरक्षित, सहज र नियमित आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

 

सम्बन्धित

Comments are closed.