वेदकोट नगरपालिकामा कुटानी–पिसानी व्यवसायी संघद्वारा नयाँ दररेट कायम

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको कुटानी–पिसानी व्यवसायी संघले सेवाशुल्कमा एकरूपता कायम गर्ने उद्देश्यले नयाँ दररेट लागू गर्ने निर्णय गरेको छ। शनिबार आयोजित संघको बैठक तथा छलफल कार्यक्रममा पालिकाभित्र रहेका ६० भन्दा बढी कुटानी–पिसानी व्यवसायीहरूको सहभागिता रहेको थियो।

छलफलपछि हाल कायम रहेको दररेटमा प्रतिकेजी १ रुपैयाँ वृद्धि गर्ने सर्वसम्मत निर्णय गरिएको संघले जनाएको छ। संघका अनुसार पछिल्लो समय सरकारले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको छ।

विशेषगरी विद्युत् महसुलमा १३ प्रतिशत कर लागु हुनु, मेसिनका आवश्यक पार्टपुर्जा तथा सामग्रीको मूल्य निरन्तर बढ्दै जानु र सञ्चालन खर्च बढेका कारण व्यवसाय संकटमा परेको उनीहरूको भनाइ छ।

बढ्दो लागतका कारण कतिपय व्यवसायी यस पेशाबाट नै पलायन हुन बाध्य भएको उल्लेख गर्दै संघले व्यवसायलाई टिकाइ राख्न र सबै व्यवसायीबीच समान दररेट कायम गर्न नयाँ शुल्क निर्धारण गरिएको जनाएको छ।

संघका संयोजक रघुवर प्रसाद लेखकले बढ्दो सञ्चालन खर्चका कारण कुटानी–पिसानी व्यवसाय सञ्चालन गर्न दिनप्रतिदिन चुनौती थपिँदै गएको बताउनुभयो।

उहाँले सरकारले विद्युत् महसुलमा १३ प्रतिशत कर लागू गर्नुका साथै मेसिनका पार्टपुर्जा, मर्मतसम्भार तथा अन्य आवश्यक सामग्रीको मूल्य निरन्तर बढ्दै गएकाले पुरानो दररेटमा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो।

उहाँले पालिकाभित्र रहेका सबै व्यवसायीबीच सेवाशुल्कमा एकरूपता कायम गर्न र व्यवसायलाई दीगो रूपमा सञ्चालन गर्न प्रतिकेजी १ रुपैयाँ दर वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

साथै उपभोक्ताले पनि व्यवसायीहरूको बाध्यता बुझेर सहयोग गरिदिन आग्रह गर्नुभयो।

सम्बन्धित

Comments are closed.