आचार्य कृष्णबहादुरको सपना ‘दलित कर्मकाण्ड पाठशाला’ खोल्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–३, तिलकपुरका आचार्य कृष्णबहादुर दमाईले दलित कर्मकाण्ड पाठशाला‘ खोल्ने आफनो सपना रहेको बताउनु भएको छ ।

सरकारी जागिर र धार्मिक कर्मलाई सँगसँगै अगाडि बढाइरहेका कृष्णबहादुरले दलित समुदायका युवाहरू विज्ञान, प्रविधि, अर्थशास्त्रसँगै संस्कृत र कर्मकाण्डको अध्ययनमा लाग्नुपर्ने बताउनु भएको छ ।

उहाँले आफ्नो गाउँमा ‘दलित कर्मकाण्ड पाठशाला‘ खोल्ने सपना देखेको र यसलाई एकदिन पुरा गर्ने बताउनु भयो । आफनो भविष्यको योजनाबारे उहाँ भन्नुहुन्छ, “म एक्लैले मन्दिरमा टीका लगाउँदैमा समाज परिवर्तन हुँदैन, म हजारौं कृष्णबहादुर जन्माउन चाहन्छु, जसले मन्दिरका ढोकाहरू सबैका लागि सधैंका लागि खुला गराउनेछन्” जातकै आधारमा पण्डित हुने सयौं वर्षको संस्कारलाई कृष्णबहादुरको ज्ञान र लगनले चुनौती दिएको छ ।

दलित समुदायमा उच्च शिक्षा, त्यो पनि संस्कृत अध्ययन गरी ‘आचार्य’ (स्नातकोत्तर) तह पूरा गर्ने उनको उदाहरण असाधारण छ । कुनै समय कथित तल्लो जातको भन्दै मन्दिरमा टीका लगाउन अस्वीकार गरिएका उनी त्यही समाजको अगाडि पशुपति परिसरको व्यासासनमा बसेर शास्त्रको व्याख्या गरिरहेका थिए ।

कृष्णले विवाह, व्रतबन्ध, न्वारान, पूजा–पाठ जस्ता हरेक कार्यमा आफूलाई अब्बल साबित गरे। उनले पूजा गर्दा जातीय विभेदको अन्त्य गर्दै ‘सबै मानिस समान हुन्’ भन्ने सन्देश प्रवाह गर्नुभयो ।

यो उहाँको आत्मसन्तुष्टिको उपाय मात्र थिएन, बरु सबै मान्छे समान हुन्, ईश्वर छन् भने सबैलाई विना विभेद स्नेह गर्छन् भन्ने सन्देश दिने अभियान पनि हो। उहाँले स्वयं पनि कर्मकाण्डलाई धार्मिक संस्कारका रूपमा मात्र नभई विभेद विरुद्धको अभियानका रूपमा सदुपयोग गर्न चाहन्छन् ।

उहँको यो सन्देश र सुन्दर शैलीबाट प्रभावित समुदायले उनलाई नै खोजीखोजी आमन्त्रण गर्छन् । उहाँको यो विद्रोह कुनै व्यक्ति विरुद्ध होइन, बरु त्यो कुसंस्कार विरुद्ध हो, जसले मान्छे–मान्छे बीच खाडल बनाउँछ ।

आज कृष्णबहादुर दमाई एउटा व्यक्ति मात्र रहेनन्, उनी नेपाली समाजमा व्याप्त जातीय विभेदको अन्त्य गर्ने एक ‘सांस्कृतिक अभियन्ता‘का रूपमा उभिएका छन् ।

 

सम्बन्धित

Comments are closed.