महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १ बैशाखा शिविरमा रहेको सिद्धनाथ वैजनाथ मन्दिरमा मोहन दमाईलाई मुख्य पुजारमा नियुक्त गरिएको छ । यी तिनै दमाई हुन जस्लाइ गत बिहिवार मन्दिरमा विभेद गरीएको थियो । उक्त बैशाखा शिविरमा समावेशी पूजा सम्पन्न गरिए संगै मूल मन्दिरको चाबी पनि दमाईलाई हस्तान्तरण गरीएको छ ।

कञ्चनपुरका सबै मठ–मन्दिरमा समान धार्मिक अधिकार सुनिश्चित गर्न सामूहिक आह्वान पनि गरिएको छ । जातीय विभेद अन्त्य गर्दै धार्मिक स्थललाई समानता, सहअस्तित्व र सामाजिक सद्भावको साझा केन्द्र बनाउने उद्देश्यसहित बैशाखा शिविरस्थित सिद्धनाथ वैजनाथ मन्दिरमा मोहन दमाईलाई पुजारी नियुक्त गरिएको आचार्य गणेशप्रशाद पन्तले बताउनु भयो ।
नियुक्तिसँगै मूल मन्दिरको चाबीसमेत हस्तान्तरण गरी सबैको सहभागितामा समावेशी पूजा सम्पन्न गरिएको बताउनु भयो । यस पहलले “मन्दिर सबैका लागि, पूजा सबैका लागि” भन्ने सामाजिक सन्देशलाई व्यवहारमै स्थापित गर्ने प्रयास गरिने उहाँले बताउनु भयो ।
सम्बन्धित समुदायले कञ्चनपुरभरिका कुनै पनि मठ–मन्दिर वा सार्वजनिक धार्मिक स्थलमा जातीय विभेद नगर्न सबै मन्दिर व्यवस्थापन समिति, पुजारी तथा श्रद्धालुहरूलाई सार्वजनिक रूपमा आग्रह गरेको छ ।
सार्वजनिक धार्मिक स्थलमा कसैलाई जातीय आधारमा पूजा–आराधनाबाट वञ्चित गरिएको पाइएमा त्यस विषयलाई गम्भीरतापूर्वक उठान गर्ने र पीडित व्यक्तिलाई नै धार्मिक नेतृत्वमा सहभागी गराउने सामूहिक प्रतिबद्धता समेत गरिएको छ ।
यस क्रममा सम्बन्धित मन्दिरका अध्यक्ष, पुजारी तथा नियुक्त भएका पुजारी मोहन दमाईलगायत समुदायका प्रतिनिधिहरूले धार्मिक स्थलमा कुनै पनि प्रकारको जातीय विभेद नगर्न संयुक्त आह्वान गरेका छन् ।
“अब विभेद होइन, समावेशी धर्माचार” यस अभियानको मूल सन्देश स्पष्ट छ—मन्दिर सार्वजनिक हो भने अधिकार पनि समान स्थानियको भनाई रहेको छ । पूजा आस्थाको विषय हो, जातको होइन । धर्मले समाज जोड्नुपर्छ, विभाजन होइन ।
कञ्चनपुरका सबै मठ–मन्दिर तथा सार्वजनिक धार्मिक स्थललाई जातीय विभेदमुक्त बनाउँदै समावेशी धार्मिक अभ्यास, सामाजिक सद्भाव र समान धार्मिक अधिकारको वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको छ ।
Comments are closed.