महेन्द्रनगर । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका १० जना कामदार सम्पर्कविहीन भएका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका–३ कान्तिपुरका ६ जना, वडा नम्बर ८ कुर्जेनीका एक जना र वडा नम्बर ७ नाउलीका तीन जना कामदार सम्पर्कविहीन भएको आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले पुष्टि गरे।
सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली, वडा नम्बर ७ नाउजीका दीपक घर्तिमगर, राजेश घर्तिमगर र किरण घर्तिमगर तथा वडा नम्बर ८ कुर्जेनीका चन्द्रबहादुर जर्घा रहेका छन्।
वडाध्यक्ष बुढामगरका अनुसार उनीहरू करिब चार–पाँच महिनाअघि रोजगारीका लागि रसुवा गएका थिए। बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो।
‘मेरो कान्छो छोरा सुनील बुढामगर पनि काम गर्न गएको थियो। आज ऊ काममा गएको रहेनछ,’ उनले भने। वडाध्यक्ष बुढामगरका अनुसार सुनीलले आफूहरू बस्ने डेरा पहाडमा र काम गर्ने ठाउँ खोलाको किनारमा रहेको बताएका थिए।
सुनीलसँगै कार्यरत करिब ३५ जना कामदार सम्पर्कविहीन रहेको जानकारीसमेत उनले दिएको वडाध्यक्ष बुढामगरले बताए। काममा नगएकाले सुनील सुरक्षित छन्।
बाढीका कारण सम्पर्कविहीन भएका डडेल्धुराका १० जनाको अवस्थाबारे स्थानीय परिवार र आफन्तहरू चिन्तित बनेका छन्।
Comments are closed.