२९ हजार एक सय विद्यार्थीहरुलाई पौष्टिक आहार वितरण

बझाङ जिल्लाका २९ हजार एक सय विद्यार्थीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।

सामाजिक दूरीलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमले जिल्लाका १२ वटै पालिकामा रहेका विद्यार्थीहरुलाई पौष्टिक आहार घरघरमा नै उपलब्ध गराएको हो ।

शुक्रबार मात्रै जिल्लाको जयपृथ्वी नगरपालिका–५, माझेशैनको भैरव आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना बालबालिकाहरुलाई आहार वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक मदनराज उपाध्यायले बताउनुभयो ।

यू.एस.डी.ए.को सहयोग, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षाका लागि खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत रहेर पौष्टिक आहार वितरण गरेको हो ।

तीन महिनासम्मको बन्दाबन्दीका कारण विद्यालय जान नपाउँदा पौष्टिक आहार नपाएपछि घरमै गएर आहार वितरण गरिएको यस कार्यक्रमका सुदूरपश्चिम प्रदेशका फिल्ड अधिकृत राजेन्द्र रसाइलीले बताउनुभयो ।

२०५७ सालदेखि बझाङ जिल्लामा लागू भएको यस कार्यक्रममार्फत अहिलेसम्म जिल्लाभर १ हजार ७ सय ४६ क्विन्टल चामल, ४ सय ३६ क्विन्टल दाल र १४ हजार ५ सय ५० लिटर तेल वितरण गरिएको रसाइलीले बताउनुभयो ।

सम्बन्धित

Comments are closed.