महेन्द्रनगर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आशिफ कुँवर ‘भुन्टु’ ले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेका छन्।
कुँवरले २४ हजार ५ सय ७० रुपैयाँ राहत कोषमा सहयोग गरेका हुन्। देश विपद्को पीडामा रहेका बेला जनप्रतिनिधिको जिम्मेवारी केवल पदमा सीमित नभई नागरिकको दुःखमा साथ दिनुपर्ने भन्दै उनले आफ्नो तलब सहयोग गरेका हुन्।
दोस्रोपटक वडा अध्यक्षमा निर्वाचित कुँवरले यसअघि पनि आफ्नो तलब तथा भत्ताबाट प्राप्त रकम वडाका गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएका थिए। यसपटक भने उनले राष्ट्रिय विपद्का पीडित नागरिकका लागि आफ्नो आम्दानीको एक हिस्सा समर्पण गरेका हुन्।
“रकम ठूलो होइन, तर विपद्मा परेको व्यक्तिका लागि सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ,” कुँवरले भने। उनले विपद्को समयमा सबै जनप्रतिनिधि, संघसंस्था तथा नागरिकलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गरेका छन्।
शुक्लाफाँटा खबर
7000 posts
Comments are closed.