ममताज काजबारमा सुदूरपश्चिमको रैथाने स्वाद समेटिएको ‘सुप थाली’ को सुरुवात

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको ममताज काजबारले सुदूरपश्चिमका रैथाने, परम्परागत तथा सांस्कृतिक परिकारको सेवा सुरु गर्ने भएको छ। सुदूरपश्चिमको मौलिक स्वाद र आतिथ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले काजबारले रैथाने परिकार समेटिएको ‘सुप थाली’  सार्वजनिक गरेको हो।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै काजबारले सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले ‘सुपा थाली’ औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिएको हो।

काजबारका प्रबन्ध निर्देशक धीरज चन्दले नेपाली खानपानको बजारमा थकाली तथा नेवारी परिकारको व्यापक चर्चा भइरहँदा सुदूरपश्चिमका ऐतिहासिक तथा सांस्कृतिक परिकारहरू ओझेलमा परेको अवस्थालाई दृष्टिगत गर्दै ‘सुपा थाली’ सुरु गरिएको बताउनुभयो। बटुक, माडा, फापर, कोदोको रोटि, गतानी, भाङको चट्नी, भट्टकी चकानि, मेथी पलेउ, फाडो, कोइरालोको चट्नी, पिडालु, कुल्चाा मुला (थारु परिकार), आलु कुल्चाा (थारु परिकार) , गाबालगायतका परिकारहरु खान पाईने भएको छ ।

उहाँका अनुसार खाना केवल पेट भर्ने माध्यम मात्र नभई कुनै भूगोलको संस्कृति, परम्परा र पहिचानको संवाहकसमेत हो। यही सन्देशसहित सुदूरपश्चिमका मौलिक परिकारलाई संरक्षण, प्रवर्द्धन र राष्ट्रिय स्तरमा चिनाउने अभियानका रूपमा ‘सुपा थाली’ अघि सारिएको हो।

रैथाने परिकारको सम्मिश्रण गरिएको ‘सुपा थाली’मा सुदूरपश्चिमको पहिचान बोकेका डुब्का, माडा, फापर तथा कोदोको रोटी, गतानी र स्थानीय जातका पोषिला गेडागुडी लगायतका परिकार समावेश गरिएको छ।

काजबारका अनुसार थालीमा समावेश परिकारमा कुनै पनि कृत्रिम रङ तथा हानिकारक रसायन प्रयोग गरिएको छैन। परिकारहरू फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट पकाइने भएकाले स्वादसँगै स्वास्थ्य र पोषणलाई समेत ध्यान दिइएको प्रबन्ध निर्देशक चन्दले बताउनुभयो।

त्यस्तै, परिकारलाई थप स्वादिष्ट तथा सुगन्धित बनाउन जिम्बु, टिम्मुर, भाङको छोप तथा पहाडी तोरीको तेल जस्ता परम्परागत सामग्रीको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो।

‘सुपा थाली’मार्फत बझाङ, बाजुरा र दार्चुलादेखि कञ्चनपुरसम्मको पहाडी जनजीवन, संस्कार, संस्कृति र आतिथ्य सत्कारलाई खानाको माध्यमबाट प्रस्तुत गर्ने उद्देश्य राखिएको काजबारले जनाएको छ।

काजबारले सुदूरपश्चिमका रैथाने परिकारको संरक्षणसँगै स्थानीय उत्पादनको प्रयोग र मौलिक खानपानको प्रवर्द्धनमा समेत ‘सुपा थाली’ले योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

सम्बन्धित

Comments are closed.