महेन्द्रनगर । कञ्चनपुरमा विश्व बाँस दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । सुरक्षित आवास परियोजनाअन्तर्गत निड्स नेपालले वेदकोट नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विश्व बाँस दिवस मनाएको हो ।
बाँसको बहुउपयोगिता, यसको संरक्षण, उत्पादन तथा स्थानीयस्तरमा बाँसको प्रयोगमार्फत आयआर्जन र जीविकोपार्जनमा पुर्याउन सकिने योगदानबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निड्स नेपालले जनाएको छ ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, किसान तथा बाँसको उत्पादन र प्रयोगसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम निड्स नेपालका उपाध्यक्ष तारा देवी धामीको सभाध्यक्षता तथा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बाँसलाई केवल परम्परागत रूपमा प्रयोग हुने वनस्पतिका रूपमा मात्र नहेरी आर्थिक, सामाजिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
बाँसबाट घर निर्माणका सामग्रीदेखि फर्निचर, डोका, नाङ्लो, डालो, टोकरीलगायत दैनिक जीवनमा प्रयोग हुने विभिन्न सामग्री निर्माण गर्न सकिने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रमलाइृ सम्बोधन गर्दै प्रमुख अतिथी जोशीले बाँसको प्रयोग वातावरणमैत्री हुनुका साथै स्थानीयस्तरमै उत्पादन गर्न सकिने भएकाले यसको प्रवर्द्धनबाट किसानको आयआर्जन बढाउन सकिने बताउनु भयो। उहाँले बाँस छिटो बढ्ने वनस्पति भएकाले यसको व्यवस्थित उत्पादन र संरक्षण गर्न सके स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्ने जानकारी दिनुभयो ।
स्थानीय स्रोतसाधनको संरक्षणसँगै त्यसको सदुपयोगमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बाँसलाई वातावरण संरक्षण र स्थानीयको आयआर्जनसँग जोडेर अघि बढाउन सके यसले समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
निड्स नेपालका उपाध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष तारा देवी धामीले बाँसको महत्वबारे समुदायमा थप जानकारी र सचेतना आवश्यक रहेको बताउनुभयो ।
उहाँले सुरक्षित आवाससँगै स्थानीय स्रोत र सीपको प्रयोगलाई प्राथमिकता दिँदै समुदायलाई आत्मनिर्भर बनाउनेतर्फ कार्यक्रम केन्द्रित रहेको बताउनुभयो ।
स्थानीय किसानहरूले बाँस उत्पादन तथा प्रयोगका क्रममा भोगिरहेका समस्या, बजारको अभाव, प्राविधिक ज्ञानको कमी तथा बाँसबाट निर्माण गरिएका सामग्रीको बजारीकरणमा देखिएका चुनौतीबारे समेत आफ्ना धारणा राखेका थिए ।
किसानहरूले बाँस उत्पादनलाई व्यवस्थित बनाउन आवश्यक प्राविधिक सहयोग, तालिम तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए ।
बाँस प्राकृतिक रूपमा उपयोगी वनस्पति हुनुका साथै माटो संरक्षण, वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा समेत महत्वपूर्ण मानिन्छ ।
त्यसैले बाँसको संरक्षण र प्रवर्द्धनलाई स्थानीय तह, किसान तथा विभिन्न सरोकारवाला निकायको सहकार्यमा अघि बढाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
विश्व बाँस दिवसका अवसरमा आयोजित कार्यक्रमले स्थानीयस्तरमा बाँसको महत्व, यसको बहुआयामिक प्रयोग र व्यवसायिक सम्भावनाबारे जानकारी प्रदान गर्नुका साथै बाँस उत्पादनमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
निड्स नेपालले सुरक्षित आवास परियोजनाअन्तर्गत यस्ता कार्यक्रममार्फत स्थानीय समुदायलाई वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग तथा स्थानीय स्रोतसाधनको दिगो उपयोगबारे सचेत गराउँदै आएको जनाएको छ ।
Comments are closed.